विराटनगर । नेपाली कांग्रेसका दुईजना केन्द्रीय सदस्य प्रदेशसभा सदस्यका लागि आगामी निर्वाचनमा उम्मेदवार हुने भएका छन् । केन्द्रीय सदस्यद्वय अमृत अर्याल र भीम पराजुली प्रदेशसभा सदस्यमा उम्मेदवार हुने भएका हुन् ।

काठमाडौंमा आइतबार बिहान भएको छलफलमा अर्याल, पराजुली, युवा नेता गुरुराज घिमिरे, प्रदेश १ का मन्त्रीद्वय केदार कार्की, शेखरचन्द्र थापा लगायतले टिकट पाउने निर्णय भएको हो ।

मोरङ क्षेत्र ३ को ‘क’ मा शेखरचन्द्र थापाले टिकट पाएका छन् । उक्त क्षेत्रको ‘ख’ मा गठबन्धनको उम्मेदवारी रहनेछ । यसअघि उक्त क्षेत्रबाट सूयर्माराज राई निर्वाचित भएका थिए ।

समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य हुँदै वन वातावरण तथा भूसरंक्षण मन्त्रालयको जिम्मेवारी पाएका थापाले प्रदेशको टिकट पाएका हुन् ।

क्षेत्र नम्बर ४ को ‘क’ तर्फ गुरुराज घिमिरे र ‘ख’ तर्फ केन्द्रीय सदस्य भीम पराजुली उम्मेदवार हुने भएका छन् । घिमिरे यसअघि प्रदेश १ सभापतिमा २ मतान्तरले पराजित भएका थिए ।

क्षेत्र नम्बर ५ ‘क’ मा गयानन्द मण्डल र ‘ख’ तर्फ केन्द्रीय सदस्य अमृत अर्याल उम्मेदवार बन्ने भएका छन् । ‘ख’ तर्फ राजेश गुप्ताको चर्चा थियो ।

२०७४ मा क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका अर्याल यसअघि महानगरको मेयरका लागि समेत चर्चामा थिए । पार्टी सभापति शेरबहादुर देउवानिकट अर्यालको नाम आएपछि आफू पछि हटेको गुप्ताले बताए ।

क्षेत्र नम्बर ६ को ‘ख’ मा केदार कार्कीले टिकट पाएका छन् । हाल प्रदेश १ को आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका कार्कीले यसअघि त्यही क्षेत्रबाट जित निकाल्दै प्रदेशसभा सदस्य बनेका थिए ।

उक्त क्षेत्रको ‘क’ तर्फ नेकपा (माओवादी केन्द्र)का जीवन आचार्य उम्मेदवार बन्ने भएका छन् ।

प्रतिनिधि सभातर्फ मोरङ क्षेत्र नम्बर १ मा जिल्ला सभापति डिगबहादुर लिम्बू, क्षेत्र नम्बर २ मा सुजाता कोइराला, क्षेत्र नम्बर ३ मा सुनील शर्मा र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालाको उम्मेदवारी हुने छ ।

91
Shares
२३ आश्विन २०७९, आईतवार १०:०५