विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले मुलुकको राजनीति दुई कित्तामा बाँडिने अवस्था निर्माण भएको छ ।

कांग्रेस र एमाले नेतृत्वको छुट्टाछुट्टै गठबन्धनले मुलुकको राजनीति दुई कित्तामा सीमित हुने भएपछि यस्तो अवस्था आएको हो । गठबन्धनले देश, समाज र राजनीतिक दलका लागि योगदानै नगरेका तथा मतदातामाझ लोकप्रिय नभएकाहरुले टिकट पाएको पार्टीका असन्तुष्ट नेताहरुले बताइरहेका छन् ।

गठबन्धनका कारण टिकट नपाउने ठूला दलका केही नेताहरुले विद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरेका छन् भने केही मौन छन् । गठबन्धनको असर मोरङको पनि राजनीतिक वृत्तमा देखिएको छ ।

मोरङबाट प्रतिनिधित्व गरेर देशभर चर्चा कमाएका निवर्तमान सांसद तथा कांग्रेसका नेता मिनेन्द्र रिजाल, कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, महेश आचार्यले गठबन्धनका कारण प्रतिनिधिसभा सदस्यका लागि पार्टीबाट टिकट पाउन सकेनन् ।

अर्यालको मोरङ ४ र ५ दुबै क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारका लागि नाम सिफारिस भएको थियो । रिजाल र आचार्यको पनि नाम सिफारिस भएको थियो । अर्यालले भने प्रदेश सभाका लागि टिकट पाएका छन् ।

यस्तै अवस्था एमालेमा पनि छ । पार्टीबाट नाम सिफारिस भएर चुनावी प्रचारमा जुटेका एमालेका नेताहरु पछिल्लो समय राप्रपा, जनता समाजवादी पार्टी (जसपा) सँग भएको गठबन्धनले टिकट नपाएपछि निरास भएका छन् ।

एमाले मोरङका सचिव रुपेश खतिवडाले पद त्याग गरेर असन्तुष्टि जनाउन बाध्य भए । मोरङ क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रचार प्रसारमा जुटिसकेका योगेन्द्र मण्डल जसपासँगको गठबन्धनले पछि हट्नुपर्ने अवस्था निर्माण भयो ।

मोरङ क्षेत्र ५ एमालेले जसपालाई दिएपछि जसपाका प्रदेश उपाध्यक्ष तथा जिल्ला अध्यक्ष राजकुमार यादव उम्मेदवार बन्ने भएका छन् । मण्डलले ‘चुनावी प्रतिस्पर्धाका लागि गरेको लगानी र तयारी खेर जान नदिन’ पार्टीमा विद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । उनलाई मनाउनका लागि पार्टीका उच्च तहका नेताहरु लागिपरेकाले उम्मेदवारी दिने नदिने अहिले नै टुंगो लागिसकेको छैन ।

मोरङमा एमालेका चर्चित नेता पर्शुराम बस्नेत (कृष्ण) ले क्षेत्र ६ को (ख) बाट प्रदेशसभा सदस्यका लागि पार्टीबाट नाम सिफारिस भएर प्रचार प्रसारमा जुटिसकेका थिए । त्यो क्षेत्र जसपाको भागमा परेपछि अवकास प्राप्त प्राध्यापक राजेन्द्रप्रसाद गुप्ताले उम्मेदवारी दिने भएका छन् ।

पार्टीको निर्णयविपरीत विद्रोह गरेर पनि उनी उम्मेदवारी दिने अवस्थामा छैनन् । पार्टीको निर्णय स्वीकारेर पार्टी हितमा अघि बढ्ने बस्नेतले बताए ।

मुख्यमन्त्रीका दावेदार मानिएका निर्वतमान प्रदेश सांसद जीवन घिमिरेले पनि जसपासँगको गठबन्धनले टिकट पाएनन् । उनी पनि विद्रोह गर्न सक्ने अवस्था आइनसकेको बताउँछन् ।

यस्तै, माओवादीका मोरङ अध्यक्ष विजय विश्वास अघिल्लो प्रदेशसभा निर्वाचनमा मोरङको क्षेत्र ४ (क) बाट निर्वाचित भएका थिए । तर यसपटक कांग्रेससँगको गठबन्धनले प्रत्यक्षबाट उम्मेदवारी दिन नपाउने भएका छन् । मोरङ ४ माओवादीको भागमा परेकाले कांग्रेसले प्रदेशसभा सदस्यको ४ (क) र (ख) दुवै क्षेत्र लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु