विराटनगर । नेकपा (एमाले) का नेता जीवन घिमिरेलाई प्रदेश १ को सम्भावित मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । आगामी निर्वाचनलाई लक्षित गरेर उनले चुनावी गतिविधि पनि तीव्र पारेका थिए ।

केही समय अघिदेखि चुनावलक्षित गतिविधि गरिरहेका उनलाई पार्टीले भने टिकट दिएन । मुख्यमन्त्रीको दाबेदार उनलाई पार्टी नेतृत्वले टिकटविहीन बनाएपछि एमालेभित्र असन्तुष्टि बढेको छ । घिमिरे शेरधन राई नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकासमन्त्री थिए ।

मन्त्री हुँदा खासै प्रभावकारी काम गर्न नसके पनि अहिले भने उनी प्रदेशको मुख्यमन्त्रीको दाबी गरेर चुनाव केन्द्रित गतिविधिमा व्यस्त थिए ।

मोरङ क्षेत्र नम्बर ४ (ख) बाट उम्मेदवार सिफारिस भएका उनलाई जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन गरेर पार्टी नेतृत्वले रोकेको छ । २०७४ सालको प्रदेशसभा निर्वाचनमा घिमिरे सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

पार्टी विभाजन हुँदा १० बुँदे सहमति गरेर एमालेभित्रै रहेका घिमिरेको नाम सिफारिसमा परेको क्षेत्र आगामी निर्वाचनमा जसपाको भागमा परेको छ ।

जसपाले सञ्जय सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । १० बुँदे पक्षधर घिमिरेलाई टिकटको दौडबाट ‘आउट’ गरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

झापाबाट राजनीति गर्दै आएका एमाले नेता हिक्मत कार्कीलाई अघि बढाउन घिमिरेलाई रोकिएको स्रोतले बतायो । कार्की पनि मुख्यमन्त्रीका दाबेदार हुन् । पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री रहेका उनलाई एमालेले झापा क्षेत्र नम्बर ५ (क) बाट टिकट दिएको छ ।

एमालेबाट घिमिरे र कार्की मुख्यमन्त्रीको दाबेदार थिए । घिमिरेले टिकट नपाएपछि कार्कीलाई एमालेबाट भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । एमाले स्रोतका अनुसार कार्कीलाई अघि बढाउने र घिमिरेलाई रोक्ने योजनाअनुरूप नै टिकट वितरण भएको हो ।

एमालेका एक नेताका अनुसार शेरधन नेतृत्वको सरकारमा हुँदा मन्त्रीबाट राजीनामा दिएर सरकार ढाल्न सहयोग गरेपछि घिमिरेसँग पार्टी अध्यक्ष केपी शर्मा ओली रुष्ट थिए ।

टिकट वितरणलाई त्यसकै परिणामका रूपमा हेरिएको छ । घिमिरेले टिकट नपाएपछि रुष्ट बनेको एमालेको एउटा समूह काठमाडौं पुगेको थियो ।

घिमिरेलाई टिकट दिनुपर्ने मागसहित एमाले नेता कार्यकर्ता काठमाडौं पुगे पनि त्यसको कुनै प्रभाव परेन । पार्टीको अस्तित्व नै मेटाउने गरी हचुवाका भरमा टिकट वितरण भएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । ओली घिमिरेप्रति सकारात्मक नभएको स्रोतले बतायो ।

घिमिरेले भने पार्टीको आधिकारिक निर्णय पर्खिएर आफू बसेको बताएका छन् । टिकट नपाएको हल्ला सुनेको, तर त्यसको आधिकारिक जानकारी आफूले नपाएको उनको भनाइ छ । उम्मेदवारको मनोनयनको समय आज आइतबार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु