विराटनगरमा एक तले घरको नक्सा पास गरी चार तलेसम्म निर्माण
विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । नक्सा पास नगरेको भए सय दिनभित्र पेस गर्न भनिएको छ ।
महानगरका कतिपय स्थानमा एक तले घर र भवनको नक्सा पास गरेर तीन–चार तलेसम्म बनाएको पाइएपछि महानगरपालिकाको चासो देखिएको हो ।
सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेकासमेत र मापदण्ड अनुकूल रहेको भए सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरले आग्रह गरेको छ ।
महानगरले भनेको छ, ‘विराटनगर महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको (तल्ला थपको नक्सा पास नगरेको समेत) र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको सूचना प्रकाशित भएको मितिले एक सय दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमित गर्न सम्बद्ध सबै व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई अनुरोध छ ।’
तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णयबमोजिम कारबाही हुने जनाइएको छ ।
महानगरभित्र धेरैले नक्सा पास नगरी घर र भवन पाइएको मेयर नागेश कोइरालाले बताए । उनले राज्यले तोकेको कानुनको परिधिभित्र सबै आउनुपर्नेमा जोड दिए ।
‘सय दिने सूचना जारी गरेका छौं,’ उनले, ‘सूचनाअनुसार सबै नक्सा पास नगरेका घर र भवनको नक्सा पास गर्नुहुनेछ ।’
महानगरका प्रमुख कार्यकारी अधिकृत विष्णप्रसाद कोइरालाले एक तले घर र भवनको नक्सा पास गरेर तीन–चार तलेसम्म बनाएको पाइएको बताए ।
उनका अनुसार त्यस्ता घरधनीका लागि पनि यो सूचना हो । यसअघि असोज १४ गते महानगरले सीमा पर्खाल नियमित गर्न र अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सूचना प्रकाशित गरिसकेको छ ।