विराटनगर । तीन दशकभन्दा अघिका सहपाठीबीच लामो समयपछि भेट हुँदाको रमाइलो कस्तो होला ? पक्कै पनि रोमाञ्चक हुन्छ । अतीत सम्झाउने खालको हुन्छ अनि पहिलेको स्नेह र माया अझ प्रगाढ बन्छ ।
यस्तै भएको छ, सुनसरी, इनरुवाको भगवती (व्यवसायिक) माध्यमिक विद्यालयमा । यो विद्यालयमा २०४३ सालमा अध्ययन गर्ने विद्यार्थीहरुबीच शनिबार भेटघाट गरिएको छ ।
त्यस अवसरमा गुरुहरु र विद्यार्थी गरी करिब ६० जनाको उपस्थिति थियो । भेटका क्रममा आपसमा खुसी साटासाट गर्दै अनुभव आदानप्रदान पनि गरिएको थियो ।
त्यसबेलाका विद्यार्थी वेद काफ्लेले पुराना गुरुहरुबाट आशिर्बाद लिन पाउँदा हर्ष अनुभव भएको बताए । यस्तै सहपाठीहरुसँगको भेटघाट रोमाञ्चक बनेको उनको अनुभव छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ ओझा प्रमुख अतिथिका रुपमा उपस्थित थिए । यसैगरी प्रधानाध्यापक गंगा पौडेल बराललगायतको पनि सहभागिता थियो ।
विशिष्ट अतिथिका रुपमा त्यस बेलाका गुरुहरु गोकुलप्रसाद श्रेष्ठ (तत्कालीन प्रधानाध्यापक), नेपाली विषययका शिक्षक लेखनाथ घिमिरे, पुरुषोत्तम घिमिरे (अंग्रेजी), नवीनचन्द्र साह (अंग्रेजी र अर्थशास्त्र) सहभागी भएका थिए ।
भेटघाट कार्यक्रमको संयोजन गरेका काफ्लेले यस किसिमको भेटघाटले नयाँ ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।
अरुणकुमार प्रधानले सञ्चालन गरेको कार्यक्रममा कृष्ण दाहाल (अधिवक्ता) ले सहभागीलाई स्वागत गरेका थिए ।
त्यस अवसरमा दिवंगत भइसकेका सागर कोइराला, सीताराम आचार्य, राजकुमार शाह, पशुपति पण्डित, महेश ओझा, जीवन आचार्य र शंकर खतिवडाप्रति श्रद्धासुमन अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
गुरुहरूका हातबाट सबै विद्यार्थीहरूले टीकाग्रहण गरेका थिए । गुरुहरूले मन्त्र उच्चारण गर्दै टीका, जमरासहित आशिर्बाद दिएका थिए ।
गुरूहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । जीवनोपयोगी ज्ञानले भरिपूर्ण गुरुहरूका आशीर्वनचन समाहित मन्तव्य सुन्न पाएर आफूहरु धन्य भएको प्रतिक्रिया सहभागीहरुले दिएका थिए ।
सहभागी विद्यार्थीका तर्फबाट श्यामा पौडेलले ३६ वर्ष पहिलेको विद्यार्थी जीवनका स्मरणहरू सुनाएकी थिइन् ।
त्यस क्रममा विद्यालयलाई सकेको आर्थिक, प्राविधिक सहयोग गर्ने पूर्वविद्यार्थीहरूले प्रतिवद्धता जनाएका थिए ।
यसैगरी गरिब, जेहनदार वर्तमान विद्यार्थीहरूलाई सहयोग गर्नेबारे पनि छलफल भएको थियो ।
कार्यक्रम आयोजनाका क्रममा गोपाल पोखरेल, अरुण प्रधान, कृष्ण दाहाल, अनिल कोइराला, टिकेन्द्रवीर जङ्ग राणा, राजेश पोखरेल, सन्देश भट्टराईले योगदान दिएका थिए ।
तस्बिरहरुः वेद काफ्ले