विराटनगर । अलैँची फलेपछि यसलाई सुकाउन परम्परागत भट्टी प्रयोग गर्ने गरिएको छ । अलैँची पहाडी भेगमा पाइने एक वनस्पति हो । अलैंचीलाई अत्यन्तै उपयोगी बहुवर्षीय पोथ्राका रुपमा मानिन्छ ।
प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, तेह्रथुमलगायत जिल्लामा उत्पादन हुने अलैँची अन्य जिल्लामा पनि बिस्तार भएको छ ।
नेपालबाहेक भुटान, श्रीलङ्का, मलेशिया र चिनमा पनि यसको खेती गरिन्छ । विभिन्न प्रजातीका अलैंचीहरू इण्डोचिन उत्तरपूर्वी भारत तथा पूर्वी र पश्चिमी अफ्रिकामा पनि पाइन्छन् ।
नेपाल, भारत र भुटान विश्वका अत्यधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ ।
यो वनस्पति कुनै पनि भिरालो परेको जमीन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेती गर्न सकिन्छ ।
अलैँची बगान ।
अलैँची विकास केन्द्रका प्रमुख पदम अधिकारीका अनुसार रामसाई जातको अलैँची वि. सं १८५० मा नेपालमा खेती भएको मानिएको छ ।
प्रतिरोपनी ३१ किलो उत्पादन हुने यो अलैंची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको छ । सोही उचाइमा खेती हुने अर्को जात भार्लाङ्गे पनि विशेषगरी इलामको प्याङ, जमुना, माबु र गोर्खेमा खेती हुने गरेको छ ।
प्रतिरोपनी ४५ किलो उत्पादन हुने यो जातको अलैँची तीन हजार हेक्टर जमिनमा खेती गरिन्छ ।
गोलसाई जातको अलैँचीको नेपालको पूर्वी पहाडमा वि. सं १८५० देखि खेती थालिएको हो । यो अलैँची समुद्री सतहदेखि एक हजार २ सय देखि एक हजार ६ सय मिटर उचाइसम्म खेती हुने गरेको छ ।
प्रतिरोपनी ३५ किलो उत्पादन हुने यो अलैंची ५९ हजार हेक्टरमा खेती हुन्छ । यस्तै अर्को जात डम्बरसाई पनि किसानले धेरै रुचाएको जनाइएको छ ।
एक सय ७० वर्षअघि सुरु गरिएकोे प्रतिरोपनी ३५ किलोका दरले उत्पादन हुने डम्बरसाई अलैंची अहिले एक हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा रोपिएको छ । यो अलैंची पनि ६ सयदेखि एक हजार २ सय मिटर उचाइभित्र खेती हुने गरेको छ ।