आयोगका अनुसार १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ । निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्यसका लागि योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार मनोनयनका लागि आवश्यक सहजीकरण गर्न निर्वाचन आयोग तयार रहेको बताएका छन् ।उम्मेदवारी मनोनयनका लागि उम्मेदवारहरूको भौतिक उपस्थिति अनिवार्य नरहेको उनले उल्लेख गरेका छन् ।
दलको आधिकारिक पत्र, वारेसनामा र मतदाता परिचय पत्रको निस्सा भए मनोनयन गर्न सकिने व्यवस्था निर्वाचन अधिकृतको कार्यालयमा गरिएको आयोगले जनाएको छ ।निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारी स्रोत, साधनको प्रयोग गरेर निर्वाचनको प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा नजान पनि मन्त्रीहरुलाई रोक लगाइएको बताएका छन् ।
अन्य निर्वाचन क्षेत्रमा कुनै काम विशेष जान पर्यो भने आयोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा उल्लेख गरिएको उनको भनाई छ ।
मनोनयन दर्ता गर्नु अघिल्लो दिन अधिकांश राजनीतिक दलहरुले आफ्नातर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिएका छन् ।
सत्तारुढ गठबन्धन दलहरुले विभिन्न निर्वाचन क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने गरी उम्मेदवार चयन गरेका छन् । प्रतिपक्षी नेकपा (एमाले) ले पनि अरु केही दलसँग स्थानअनुसार सहयोग गर्ने र लिने रणनीति बनाएको छ ।
उम्मेदवार चयन गर्दा कतिपय दलका पुराना नेता बाहिरिएका छन् भने कतिपय दलमा नयाँ अनुहार देखिएका छन् । उम्मेदवार चयनमा भेदभाव भएको भन्दै असन्तुष्टि पनि चुलिएको छ ।