विकासका लागि कोरिएका
योजनाका खाकाहरू
पटकपटक द्वन्द्वले
पूर्ण रुपमा निस्तेज पारिदियो
आर्थिक भारमा आफ्नै टाउको
उठ्नै नसक्ने गरी पछारिदियो
विकासमा भष्टाचार गरी
कमिुनका बाछिटाहरूले
आक्रान्त पारिरहँदा
दल प्रतिको विश्वास र भरोसामा
म यसपालिको चुनावमा
भोट हाल्न सक्दिनँ महासय!

अभावमा खुसीसाथ
एक गाँस खान्छु
दबाबमा चौरासी व्यन्जन
चाहिँदैन मलाई
विकासका ढोका चहार्दैमा
कयौं दिनरात बिते मेरा
व्यक्तिगत लाभहानिमा
नेतृत्वले पाइला चालेपछि
त्यो पाइला पछ्याउन
चाहन्न अब म
अथवा मेरो नैतिकताले दिएन
संघर्ष र बलिदानले
ल्याएको गणतन्त्रको खोल
ओढ्न नसक्ने अवस्थामा
छु अहिले म ।

तिमीले दिने
झुटो आश्वासन र
क्षणिक लाभका कारण
मेरो आक्रोसको ज्वारभाटा
थेग्न सक्दैनौ होला अब
धैर्यको बाँध यसपटक
सुनामीझैँ उग्र रुपमा
विस्फोटन हुन लागेको छ
निर्मल कञ्चन अमृतलाई
काँडे बल्छी थाप्दै
धमिल्याउन खप्पिस रहेछौ तिमी
अस्तित्व समाप्त गर्दै
हिँडेको देखेपछि तिमीलाई
थोरै विश्वासक‍ो पनि
हकदार रहेनौ अब
त्यसैले यसपालिको चुनावमा
आफ्ना औंलालाई
बेइमानलाई सिँढी
चढाउन बन्देज गरेको छु ।

–विराटनगर, मोरङ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु