विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आचारसंहिता पालनामा कडाई गर्न जोड दिइएको छ ।
प्रदेश १ निर्वाचन कार्यालय विराटनगरले शनिबार आयोजना गरेको कार्यक्रममा दलका प्रतिनिधिले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गरी जिल्लाभरि एकरुपता कायम गर्न आग्रह गरे ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले चुनावी प्रचारमा प्रयोग हुने सवारी, प्रचार सामग्री, सामाजिक सञ्जालको प्रयोगमा कडाई गर्न प्रदेश निर्वाचन कार्यालयलाई आग्रह गरे ।‘स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार गरेकालाई मध्यनजर गरी आचारसंहिता पालनामा कडाई गरियोस्,’ उनले भने, ‘उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमा जथाभावी कुप्रचार गर्नेलाई कानूनी दायरामा ल्याउनु आवश्बयक छ ।’
कांग्रेस मोरङका सचिव ललितबहादुर श्रेष्ठले मनोनयन दर्तालगायत प्रचार प्रसारमा २५ जनामात्रै जाने आचारसंहिता सबै दललाई एकजुट भएर कार्यान्वयन गर्न आग्रह गरे ।
उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि कात्तिक १८ गतेबाट मात्रै प्रचार प्रसार गर्ने निर्वाचन आचारसंहितामा भएको व्यवस्था कार्यान्वयन कठीन हुने उनले बताए ।
आचारसंहिताविपरीत प्रचार सामग्रीको प्रयोगमा दल र प्रदेश निर्वाचन कार्यालय दुबैलाई चनाखो हुनु आवश्यक रहेको श्रेष्ठको भनाई थियो ।
राप्रपाका मोरङ अध्यक्ष माधव आचार्यले उम्मेदवारहरुले विपन्न बस्तीमा भोज खुवाउने र पैसा बाँड्ने परिपाटीलाई निस्तेज पार्ने संयन्त्र परिचालन गर्न ध्यानाकर्षण गराए ।
प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले सबै दलको सहमतिमा निर्वाचन आचारसंहिता कार्यान्वयन भएकाले जिल्लामा सबै दल र उम्मेदवारलाई पालना गरिदिन आग्रह गरे ।
उनले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई एक लाखसम्म जरिबाना र मनोनयन रद्द हुनेसम्म सजायको व्यवस्था रहेकाले सबैलाई सचेत भएर प्रचार प्रसारमा लाग्न आग्रह गरे ।
मोरङका मुख्य निर्वाचन अधिकृत तथा मुख्य जिल्ला न्यायाशीश दुर्गाप्रसाद ढुंगेलले निर्वाचन आचारसंहिता कार्यान्वयन पालना गरेर सहयोग गर्न दलहरुलाई आग्रह गरेका छन् ।
‘मनोनयन दर्तापछि कात्तिक १७ गतेसम्म प्रचार प्रसार नगरी निर्वाचन आचारसंहिता पालना गर्नु दल र उम्मेदवारहरुको दायित्व हो,’ उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रामक प्रचार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउँछौं ।’
६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङमा मुलुकभरिका जिल्लाहरुमध्ये सबभन्दा बढी ७ लाख ३५ हजार ५२५ मतदाता छन् । जिल्लाभरिका मतदाताहरुलाई मतदान गर्न ३०६ मतदानस्थलमा ८३९ मतदान केन्द्र तोकिएको छ ।