गगन नुनिया
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ का प्रशान्त ठाकुरले प्रतिनिधिसभाका लागि मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने भएका छन् । शनिबार पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बन्न लागेका हुन् ।
ठाकुरले मुख्य रुपमा जनता प्रगतिशील पार्टीका दुईवटा मुद्दालाई लिएर चुनावी मैदानमा उत्रने बताए । उनी आफ्नो शिक्षण पेसा त्यागेर उम्मेदवार बन्न लागेका हुन् ।
उनले किसानको स्तर उकास्ने अनि किसानको नेतृत्वमा अग्रसर रहने प्रतिवद्धता जनाएका छन् ।
देशको कुल जनसंख्याको सबैभन्दा बढी किसान रहेको भए पनि सत्तारुढ दलहरुले किसानको हितका काम गर्न नसकेको आरोप उनको छ ।
सिंचाइको अभावदेखि अन्नको मूल्य निर्धारणसम्म सही तरिकाले हुन नसकेको भन्दै उनले आफूले निर्वाचनमा जिते यस्ता समस्या अन्त्य गर्ने दाबी पनि गरे ।
आफूले रोजगारीको संकट हटाउने साथै युवा वर्गको हकहितका लागि काम गर्ने उनले बताए । मुलुकमा रोजगारी सिर्जना हुन नसक्दा युवाहरु विदेशिनु परेको उनको भनाइ छ ।
आफूले कुनै राजनीतिक दलसँग गठबन्धन नगर्ने ठाकुरले उल्लेख गरे । मोरङ ६ मा काग्रेस नेता शेखर कोइराला सम्भावित उम्मेदवार छन् ।
(प्रशिक्षार्थी)