विराटनगर । नेकपा (एमाले) मोरङका जिल्ला सचिव रुपेश खतिवडाले आगामी निर्वाचनका लागि टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।

पार्टीको जिल्ला समिति अध्यक्षसमक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैरराजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । खतिवडाले राजीनामा पत्र प्रदेश समिति र केन्द्रीय समितिका अध्यक्षलाई बोधार्थ दिएका छन् ।

‘नेकपा एमाले मोरङको तर्फबाट उम्मेदवार सिफारिस गर्दा वा सर्वसम्मत गर्दा वा छनौट गर्दा पार्टीको सिद्धान्त, विधि, पद्धति र प्रक्रिया विपरीत केही निश्चित स्वार्थ अनुकूल हुने गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्यप्रति मेरो पूर्ण असहमति रहेको व्यहोरा जानकारी गराउँदछु,’ उनले राजीनामा पत्रमा लेखेका छन् ।

‘पार्टी कमिटीहरू कार्यार्थ हुन्, केबल बोधार्थ वा मानार्थ मात्र होइनन् । पार्टीले गर्ने निर्णयहरू वा सूचनाहरूमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्दछ र हुनुपर्ने हो’ उनले लेखेका छन्, ‘तर अहिलेको उम्मेदवारको पजनी र प्रचार पार्टीको संस्थागत जानकारी र निर्णय विपरीत रहेको व्यहोरा अनुरोध छ । यसर्थ यस्तो गैर राजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकोले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

84
Shares
२२ आश्विन २०७९, शनिबार १६:०७