काठमाडौं । पार्टीले प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । उनले शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
भुसाललले पार्टीमा केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिता मौलाएको भन्दै एमालेको गौरवलाई कुनै दिन पुन:स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आएपनि अति भएकाले पार्टी परित्याग गरेको जनाएका हुन् ।
‘मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुन:स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’, भुसालले भनेका छन् ।