विराटनगर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । मनोनयन पत्र दर्ता गर्न दुई दिन बाँकी रहँदा कतिपय राजनीतिक दलहरुले उम्मेदवारी टुंगो लगाउन सकेका छैनन् ।
आपसमा भागबण्डा गर्नुपर्ने दल तथा गठबन्धनहरुमा अझैसम्म सहमति नहुँदा अन्योलको अवस्था देखिएको छ । उम्मेदवारका आकांक्षीहरु आफूले अवसर नपाएको भन्दै असन्तुष्टि सार्वजनिक गरिरहेका छन् ।
एकै दलका पनि विभिन्न समूह र गुटबीच उम्मेदवारीका लागि टिकट वितरणमा भेदभाव भइरहेको भन्दै किचलो देखिएको छ । यसले गर्दा उम्मेदवारी टुंग्याउन सकस भइरहेको छ ।
असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ । त्यसै दिन मनोनयन पत्रको सूची प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय हुने छ ।
असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन हुने छ । असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
तयसपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी निर्वाचन कार्यक्रम तय भइसकेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको खण्डमा रिक्त हुने स्थानमा अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।
असोज २२ गते उम्मेदवारको बन्द सूचीको सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने तथा कात्तिक ९ गते उम्मेदवारको बन्द सूची अन्तिम रुपमा प्रकाशन गर्ने कार्यक्रम छ ।