सांकेतिक तस्बिर ।
विराटनगर । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आईएमई कार्यालयबाट नगद र सुनचाँदीका गहना लुटको घटनामा संलग्न रहेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यो घटनामा संलग्न भनिएका चारजनामध्ये तीन जना पक्राउ परिसकेका छन्।
एकजनालाई झापाको बिर्तामोड र अर्कालाई ताप्लेजुङ फुङलिङ नगरपालिका ३ मा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए ।
यसअघि अर्का एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । लुटपाटमा चार जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । फरार रहेका भनिएका अर्का एकजनालाई प्रहरीले खोजी गरिरहेको छ ।
लुटेको नगद ६ लाख र झोलामा सुनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीले पक्राउ गरेको हो ।
आईएमई सञ्चालक अमर श्रेष्ठ र मैया श्रेष्ठ भ्रमणको क्रममा अस्ट्रेलियामा छन् । यहाँ रहेका कर्मचारीलाई आफूले राखेको सुन लिने भन्दै नियन्त्रणमा लिई लुटपाट गरी भागेका थिए ।
उनीहरूले गत सोमबार करिब ७ किलो सुन र नगद ११ लाख ५५ हजार लुटेको सञ्चालकले बताएका छन् । प्रहरीले भने उनीहरू पक्राउ परिसकेपछि पूर्ण विवरण आउने बताउँदै आएको छ ।