गगन नुनिया

विराटनगर । तीन दशकदेखि माछा पालन गरिरहेका मोरङको जहदाका सोगारथ मण्डल यतिन्जेल ‘माछा व्यवसायी’ का रुपमा चिनिँदै आएका थिए । अब उनको परिचय अलि बेग्लै पनि बनेको छ । पछिल्लो नयाँ परिचयले उनी हर्षित छन् ।

२०५० सालमा एउटा पोखरी किनेर माछा पालन सुरु गरेका उनको व्यवसाय विस्तार हुँदै गएर ठूलो क्षेत्रफलमा फैलिएको छ ।

जहदा गाउँपालिका ५ का ५७ वर्षीय मण्डलले माछा पालन र बिक्रीबाट भएको आम्दानीले घर परिवारको खर्च धान्दै आए । सुरुमा अलि गाह्रो थियो । तर बिस्तारै सहज हुँदै गयो ।

दैनिक हुने पारिवारिक खर्च त छँदैथियो । त्यसबाहेक उनले आफ्ना छोरालाई राम्रो शिक्षादीक्षा पनि दिनु थियो । यसमा पनि उनले आफ्नो ध्यान लगाए ।

उनले गरेको मेहनत र छोराछोरीको लगनले उन्नति हुन थालेको छ । छोरा शिशुपाल मेहनतसाथ अध्ययन गरेर डाक्टर बन्न सफल भएका छन् ।

त्यसैले सोगारथ अचेल ‘माछा व्यवसायी’ मात्र भनेर चिनिंदैनन् । उनलाई गाउँलेले चिन्ने अर्को पक्ष हो– ‘डाक्टरको बुवा’ ।

‘छोरा डाक्टर बनेकोमा गाउँमा सबैले चर्चा गर्न थालेका छन्’ सोगारथले भने, ‘सबैले तारिफ गरिरहेका छन् । घरमा माछा लिन आउनेहरु, बाटोमा भे्टने साथीभाइहरु सबैले बधाई दिइरहेका छन् ।’

शिशुपाल विद्यालयमा सधैं उत्कृष्ट नतिजा ल्याउँथे । त्यही भएर पनि बुवालाई छोराले केही गर्छ भन्ने आशा थियो । उनले आफ्नो कमाइको मुख्य अंश छोराछोरीकै पढाइका लागि खर्च गरे ।

शिशुपालले जहदा ५ को लक्ष्मिनियामा रहेको दुर्गा माविमा १० कक्षासम्म पढे । त्यसपछि बिराटनगरको शिक्षादीप कलेजबाट विज्ञान विषयमा १२ कक्षा अध्ययन सके ।

त्यसपछि उनी पाटन मेडिकल क्लेजमा पढ्न पुगे । उनीसहित पाँचजना साथीहरु छात्रवृत्तिमा अध्ययन गर्नका लागि नाम निकाल्न सफल भए । शिशुपाल हाल इन्टर्नसीपको क्रममा छन् ।

‘एक वर्षपछि सरकारले तोकेबमोजिम कुनै जिल्लामा रहेको अस्पतालमा गएर सेवा गर्नेछु’ उनले भने, ‘छात्रवृत्तिमा अध्ययन गरेपछि कम्तीमा दुई वर्ष सरकारी अस्पतालमा सेवा गर्नुपर्छ ।’

शिशुपालको इच्छा ‘मास्टर इन डक्टरेट’ गर्ने छ । उनका कतिपय स्कुले साथीहरु सरकारी विद्यालयमा शिक्षक छन् । कोही अरु संस्थाहरुमा काम गरिरहेका छन् । आफूलाई भने डाक्टर नै बन्छु भन्ने लागेर त्यहीअनुसारको विषय अध्ययन गरेको उनले सुनाए ।

शिशुपालले एमबीबीएस सकेका छन् । उनका माइला दाजु दीपक वाणिज्य बैंकमा करारका रुपमा काम गरिरहेका छन् । जेठा दाजुले १२ कक्षासम्म पढाइ गरे । उनी हाल बुवालाई व्यवसायमा सघाइरहेका छन् ।

उनीहरुको बुवा व्यवसायी मात्र होइन गाउँमा समाजसेवी र सहयोगीका रुपमा पनि चिनिएका छन् । गाउँले कसैलाई कुनै समस्या पर्यो भने तुरुन्तै पुग्ने र सहयोग गर्ने उनको बानी छ ।

‘कसैलाई केही मद्दत चाहियो भने फोन आउँछ’ शिशुपालले भने, सहयोग गर्न काम छाडेरै भए पनि बुवा कुदिहाल्नुहुन्छ ।’ उनको यस्तो स्वभावले अरुलाई पनि समस्यामा परेकाहरुको सहयोग गर्न प्रेरित गर्ने गरेको शिशुपालको अनुभव छ ।

बुवाको मेहनतप्रति छोरा गर्व गर्छन् । बुवा पनि आफूले गरेको मेहनत अनुसार उनीहरुले राम्ररी पढेर उन्नति गर्नतिर ध्यान दिएकामा धेरै खुसी छन् ।

सोगारथलाई लाग्छ– आफनो भविष्य सुरक्षित गर्नका लागि कुनै न कुनै व्यवसाय थालनी गरेर मुख्य आम्दानी स्रोत बनाउनु पर्छ । उनले अरु खेती गर्दा आम्दानी निकै कम हुने भएकाले माछा पालनमा लागेको सुनाए ।

सुरुमा उनले चार कठठा जग्गा बेचेर एउटा १७ कठ्ठाको पोखरी किनेका थिए । माछाका भुरा पोखरीमा छाडियो । हुर्किएर बेच्ने बेला हुँदा कसैले उनको पोखरीमा विषादी मिसाइदियो । सबै माछा सखाप भए ।

नयाँ व्यवसाय सुरु गरेकै बेला यस्तो ब्यहोर्ने परे पनि उनले हरेस खाएनन् । अन्यायमा परेको भन्दै उनले प्रहरीमा उजुरी दिए ।

त्यसपछि फेरि त्यही व्यवसायलाई निरन्तरता दिए । प्रहरीले पनि चासो दिएर उनलाई सहयोग गर्ने बतायो । अनि फेरि त्यस्तो घटना दोहोरिएन ।

उनले उत्पादन गरेका माछा विराटनगर र आसपासका बजारमा बिक्री हुन्छ । हाट, मेला अनि कसैको घरमा हुने कुनै कार्यक्रमका लागि माग हुँदा उनकै माछा आपूर्ति हुने गरेको छ ।

पछिल्लो समय व्यवसाय सुरक्षाको उपाय पनि अपनाएका छन् । करिब सात वर्षदेखि माछा पोखरीको बिमा गरिएको छ । कुनै नोक्सानी भए क्षतिपूर्ति, बिमावापत रकम पाउने भएकाले अलि ढुक्क भएको उनी सुनाउँछन् ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु