सैं भन्नासाथ मनमा एउटा बेग्लै अनुभूति सञ्चार हुन्छ। केटाकेटी बेला र त्यसयता उमेर बढेसँगै फरकफरक किसिमले हरेक वर्ष अनुभव गर्ने दसैंका अनेक प्रसंग बिर्सनै नसकिने छन्।

ठाउँ, परिस्थिति र परिवेशले हरेक कुराको महत्वमा घटबढ ल्याउने रहेछ। संसारको जुनसुकै कुनामा भए पनि हामी नेपालीलाई हर्ष, उल्लास र उमंगको चाड दसैं उत्तिकै महत्वपूर्ण लाग्छ।

फरक यत्ति लाग्यो– नेपालमा दसैं आउन लाग्दा हावा र माटोमा पनि दसैंको सुगन्ध आउँथ्यो भने यहाँको व्यस्तताले दसैंको त्यस्ता सुगन्ध उत्तिकै मात्रामा नभएको महसुस मैले गरेँ।

स्वदेशबाट टाढा भए पनि म आफूलाई भाग्यमानी ठान्छु, किनकि म आफ्नो आमा र दिदीभिनाजुसँग बसेर दसैं मनाउन पाइरहेकी छु। यद्यपि नेपालमा रहने मेरा अन्य आफन्त तथा इष्टमित्रहरूको यो समयमा याद भने आउने रहेछ। नेपालमा जस्तै परिवारजनसँग बसेर मिठामिठा परिकार बनाएर, टीका, जमरा र आशीर्वाद थापेर दसैं मनाउने गरेका छौं।

आफू जन्मिएको हुर्किएको ठाउँ, आफन्तजन, इष्टमित्र र आफ्नो देश पक्कै पनि याद आउँछ तर यहाँको व्यस्तता र बाध्यताका कारण ती सबैलाई फुर्सदमा बसेर सम्झनसम्म भ्याइँदैन।

चाडबाडमा त्यहाँका आफन्त इष्टमित्रहरुसँगको भेटघाट, जमघट र फुर्सदिलो समय सम्झन्छु।

बाल्यकालका कति कुराहरू सम्झँदा अहिले पनि अनुहारले मुस्कुराउन बिर्सिंदैन। दसैंका लागि बाबाआमाले किनिदिनुभएको नयाँ लुगा फूलपातीको दिन लगाएर साथीभाइलाई देखाउँदै इलामको टुँडिखेलमा फूलपातीको कार्यक्रम हेर्न जाँदा रमाइलोको सीमा हुँदैनथ्यो। अहिले अचम्म लाग्छ, मलाई नयाँ लुगा प्यारो थियो कि फूलपातीको दिन!

त्यस दिन टुँडिखेलमा विभिन्न खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिन्थ्यो। जमिनमा गाडिएको अग्लो बाँसको टुप्पोमा राखिएको पेरुंगो सहितको भाले टिप्नेहरुको प्रतिस्पर्धा चल्थ्यो।

प्रतियोगिता त्यति सजिलै जितिँदैनथ्यो। बाँसमा खानेतेल लगाइएको हुन्थ्यो। टुप्पाबाट पनि तपतप झरिरहेको हुन्थ्यो जसकारण प्रतियोगीहरु बाँसमा चढेर मास्तिर जाने प्रयाससँगै तलतल झर्थे।

बिहानै सुरु हुने यो प्रतियोगिता करिबकरिब साँझ परेपछि मात्र टुंगिन्थ्यो। कोही प्रतियोगीले टुप्पोमा रहेको भालेसहितको पेरुंगो खोलेर लिएपछि विजयी घोषित हुन्थे।

समयको कमी भए पेरुंगोसम्म पुगेर छुने प्रतियोगीलाई विजेता घोषित गरिन्थ्यो। यो खेलमा सहभागी हुनेहरुको आफ्नै अनुभव हुँदो हो। दर्शक भने उनीहरु बाँसमाथि चढ्न खोज्ने तर तेलमा चिप्लिएर अनेकौं पटक भुइँमा आइपुग्ने उपक्रम देखेर मज्जाले हाँस्थे।

त्यसै बेला ‘पिलो फाइट’, बोरामा दुबै खुट्टा हालेर गरिने दौड, सय मिटरको दौड, भाले जुधाइ अनि अरु रमाइला खेल आयोजना गरिन्थ्यो। त्यसैबेला ठाउँ–ठाउँमा आयोजना हुने सांस्कृतिक, सांगीतिक कार्यक्रमहरुले दसैंलाई बेग्लै रोमाञ्चकता दिलाउँथे।

इलामको अर्को विशेषता दसैंदेखि तिहारसम्मै बिंगो अर्थात् हाउजी खेल खेलाइन्थ्यो। विभिन्न संस्थाहरुले पालैपालो खेलाउने यो खेल दिनको दुई–तीन चरणसम्म चल्थ्यो। यो खेलका बेला पनि टाढा–टाढाबाट आएकाहरुबीच गजबको भेटघाट हुने गर्थ्यो। खेलको रमाइलो एकातिर छँदैथ्यो, भेटघाट र भलाकुसारी मुख्य आकर्षण हुने गर्थ्यो।

उतिबेला नियमित बिजुली हुँदैनथ्यो। खेलका बेला बिजुली गएर चाहिँ कहिलेकाहीँ हैरानी हुन्थ्यो। जेनेरेटर बालेर आयोजकहरुले खेल सञ्चालन गर्ने गरेका धेरै उदाहरण छन्। अनि खेल्नेहरुले पनि टर्चलाइट बालेर खेलेको देखिन्थ्यो।

सदरमुकाम मात्र होइन जिल्लाका विभिन्न गाउँ ठाउँमा दसैं–तिहारका बेला खेलकुद प्रतियोगिताहरु आयोजना गरिन्थ्यो। खसी कप फुटबल, भाले कप भलिबल प्रतियोगिताहरु धेरै रमाइलो गरी आयोजना हुन्थ्यो। त्यस्ता गतिविधिले पनि दसैंलाई थप रोमाञ्चक बनाउँथे।

मैले नयाँ लुगा फूलपातीकै दिन लगाइसकेको भएर होला दसैंको टीकाको दिनसम्म त्यसले दिने खुसी वा रमाइलोको मात्रा घटिसकेको हुन्थ्यो। त्यसको सट्टामा बाबाआमा र आफन्तजनले दिनुहुने दक्षिणाले बढी खुसी मिलेको अनुभव मैले गरेकी छु।

म हरेक दिन जम्मा भएको दक्षिणाको पैसा गन्थेँ र आफ्नो दादादिदीलाई सुनाउँथेँ, तर यति नै जम्मा हुन्थ्यो भनेर अहिले सम्झन भने सकिरहेको छैन। दादा र दिदीको भन्दा हरेक दसैंमा मेरै दक्षिणा बढी हुन्थ्यो।

अचम्म, मलाई आफूले पाएको दक्षिणा गनेर जम्मा गरेको याद छ तर खर्च गरेको यादै छैन।

इलाममा हुँदा सदरमुकामको बजारमा हुने चहलपहल, गाउँ–गाउँबाट आउने मानिसहरुको भिडभाडले बेग्लै रौनक थप्थ्यो। माईस्थान मन्दिरमा हुने दसैं पूजा, अष्टमीका दिन आयोजना हुने मार हान्ने कार्यक्रम अनि त्यस बेला पड्काइने बन्दुकको आवाजको बेग्लै छाप बसेको छ मनमा।

फूलपाती बढाइँका बेला त झनै रमाइलो हुने। माइस्थानदेखि मन्दिरहरु घुमाउँदै देउराली पुर्‍याएर बजार परिक्रमा गर्दाको रमाइलो अर्कै हुन्थ्यो।

नौरथाका दिनमा माइस्थान, सिंहबाहिनी मन्दिर र आसपासका अरु मन्दिरमा कति धेरै घुइँचो हुन्थ्यो। त्यसबेला पढाइ, जागिर र अरु सिलसिलामा घरभन्दा टाढा रहेकाहरु पनि भेला हुन्थे।

त्यसरी भेला हुँदा लामो समयदेखि भेटघाट हुन नपाएकाहरुको मिलन अनि रमाइला कुराकानी, अनुभव आदानप्रदान यस्ता अनेक प्रसंगहरु छन्, जो यता सम्झनाका रुपमा यतिबेला शृंखलाबद्ध आइरहेका छन्।

नेपालमा जन्मिएर नेपालमा नै वर्षौंदेखि दसैं मनाउँदै आएकालाई त दसैंप्रतिको क्रेज घटिरहेको महसुस हुन्छ भने विदेशमा हुर्कँदै गरेका छोराछोरी वा दोस्रो पुस्तामा यो झन् कम हुनु स्वाभाविकै हो जस्तो लाग्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु