सैँ भन्नेबित्तिकै मांसाहारीका लागि मासु र यसका परिकारहरुको महत्व बेग्लै छ। अरु बेला जति मासु खाए पनि दसैँको मासुको आफ्नै महत्व छ। खसी, बोका, बंगुर, बँदेल, वा राँगा बलि दिने अर्थात् मार हाल्ने यो विशेष अवसर हो। बालकदेखि बृद्धसम्म सबै दसैं भनेपछि आनन्दित हुन्छन्।

मासुका विभिन्न परिकार अचार, चिउरा, अनि विभिन्न पेय पदार्थहरु सम्झँदै मुख रसाएर आउने पर्व हो दसैँ। सामान्यतया अरु बेलाभन्दा दसैँमा हामी अलि बढी मासु खान्छौं। अचेल धेरैले मासुसँग पेय पदार्थ पनि लिन्छन्।

रमाइलो त गर्नुपर्छ तर अत्याधिक मासु, अचार तथा चिल्लो–पिरो र त्यसमाथि मद्यपान एवं धूमपान भएका कारण स्वास्थ्य समस्या पनि गराउन सक्छ भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ।

स्वास्थ्यको दृष्टिकोणले मासुलाई अति राम्रो वा पोसिलो स्वस्थ्यकर खानेकुराका मानिने गरिन्छ। मासुमा हामीलाई चाहिने अति आवश्यक मानिएको माईक्रोन्युट्रेन्टहरु (जिङ्क, सेलेनियम, म्याग्नेसियम, क्याल्सियम, आइरन भिटामिनहरु), बोसो तथा प्रोटिन पाइने भएकाले स्वास्थ्यका लागि मासु सेवन गर्नु फाइदाजनक हुन्छ। मासुको सेवनले छाला राम्रो हुने, रक्तअल्पता नहुने, राम्रो निन्द्रा लाग्ने, तथा कुपोषणबाट जोगाउने हुन्छ।

तर अत्यधिक मासु सेवनलाई राम्रो मान्न सकिन्न। अमेरिकी डायटेरी एसोसिएसनले नियमित १ सय ५० ग्रामसम्म नियमित मासु सेवन गर्नु औसत तौल भएको व्यक्तिका लागि उपयुक्त भनेको छ।

मासुको सेवनले आन्द्रामा क्यान्सर हुने सम्भावना बढ्ने, शरिरको तौल बढ्ने (मोटो हुने), मुटुका रोगी तथा मधुमेह हुने, विभिन्न जुकाहरु सर्ने सम्भावना बढी हुन्छ।

पछिल्लो अध्ययनले मासुका परिकारहरु नखाएर साग तरकारीहरु मात्र सेवन गर्नाले अर्थात् साकाहारीहरुमा मुटु रोग हुने सम्भावना कम हुने गरेको देखाएका छन्।

त्यस्तै मांसाहारीभन्दा साकाहारीहरुको आयु सरदर ७ देखि १५ बर्ष बढी हुने गरेको, बृद्धावस्था ढिला आउने गरेको, मोटोपन कम हुने गरेको तथा अधिकांश क्यान्सरहरुबाट जोगाउने गरेको अध्ययनहरुले देखाएको छ।

तर यस किसिमको परिणाम आउनुका कारण ताजा मासुभन्दा पनि प्रोसेसिङ्ग गरिएका मासु (ससेजहरु) सेवन गरेका, फाइबरयुक्त खाना (साग, तरकारी) कम खाने गरेको, शारीरिक व्यायाम कम गर्ने गरेका अनि मद्यपान र धूमपान सेवन पनि गर्ने गरेका जस्ता पनि हुन सक्ने केही विज्ञहरुको तर्क छ।

त्यसैले उचित मात्रामा मासुको परिकार खानु स्वास्थ्यकर हुन्छ। मासुमा मुख्य रुपमा प्रोटिन र एमिनो एसिड पाउने गर्छ। त्यसैले मासु बढ्दो उमेरका बालबालिकाहरु, गर्भवती वा सुत्केरी महिलाहरु, तथा बृद्धहरुलाई अति उपयोगी हुन्छ। त्यस्तै मासुमा अधिकांश खनिज तत्व र भिटामिनहरु पाइन्छ।

सबभन्दा महत्वपूर्ण कुरा मासुमा मात्र भिटामिन बी–१२ पाइन्छ, जुन शाकाहारमा पाईदैन। मासु नखानेहरुमा ओमेगा–३ र ओमेगा–६ को बीचको सन्तुलनमा कमी आउने, खनिज पदार्थहरुमा कमी आउने तथ्य पनि अध्ययनले देखाएको छ।

हामीले सेवन गर्ने मासु स्वस्थ्यकर हुनु पर्छ। मासुमा विभिन्न किसिमका जुकाका अण्डाहरु, जुकाका भागहरु, सुक्ष्मजीवी परजीवीहरु (व्याक्टेरिया फन्जाई) तथा मन्द बिषादी (फुड पोइजन) हुन सक्छन्।

त्यस्ता हानिकारक तत्वयुक्त मासु सेवन गर्नु हुँदैन। त्यसैले स्वस्थ खसी छान्नुका साथै त्यसलाई राम्ररी तयार गरेर अनि पकाएर मात्र सेवन गर्नु पर्छ।

दसैँमा मासुको भण्डारणमा समस्या आउन सक्छ। मासु भण्डार गर्दा मासुमा विभिन्न जीवाणुहरुको बृद्धि हुने भएकाले त्यसलाई पाँच डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा भण्डार गर्नुपर्छ।

त्यसैले मासु सम्भव भए फ्रिजमा र फ्रिज नभए झिङ्गा नभन्किने, मुसा नलाग्ने, सुख्खा तर चिसो ठाउँमा भण्डार गर्नुपर्छ। कलेजो मुटु फोक्सो जस्ता नरम मासु भण्डार गर्न सुक्खा बनाउनु पर्छ। अन्यथा धेरै लामो समय भण्डार गर्नु हुँदैन।

धेरै मासु खाएर पखाला लाग्यो भन्ने भनाई धेरैको हुन्छ। तर मासु सजिलै पच्ने खानेकुरा हो। यसले पखाला लगाउने वा अपच हुने हुँदैन। तर मासुमा धेरै तेल वा मसला प्रयोग गरियो वा धेरै फ्राइ गरियो भने, मासु अस्वस्थ, असुरक्षित भयो भने पेटको गडबढी हुन सक्छ।

त्यसैले धेरै चिल्लो मसलादार मासुको परिकार बनाउनु वा धेरै फ्राइ गर्नु चाहिँ राम्रो होइन। धेरै मासु खानाले कब्जियत हुने सम्भावना हुन्छ। त्यसैले मासुका परिकारहरुसँग फाइबर भएका खानेकुराहरु (सागपात, सलाद, फलफूल), अत्यधिक मात्रामा पानी सेवन गर्नु राम्रो हो।

समान्यतयाः सबै किसिमका रोगीहरुले मासु खान मिल्छ भन्दा फरक नपर्ला। गाष्ट्रिाइटिसका बिमारीहरुले उसिनेर तथा चिल्लो र मसला नहाली पकाएको मासु खानु पर्छ। मधुमेहका रोगीले खानामा विशेष ध्यान  पुर्याउनु पर्छ। यस्ता बिमारीले बोसो नभएको मासु खानुपर्छ।

उच्च रक्तचापका बिमारीले पनि बोसो नभएको तथा नुन कम राखेर पकाएको मासु खान हुन्छ। यस्ता बिमारीले साँधेको, तारेको मासुको परिकार खानु राम्रो मानिंदैन। बाथका बिरामीहरुले रातो मासु, गोलभेंडा, गेडागुडी, पालुंगोको साग आदि खानु हुँदैन। तर हाड जोर्नीका बिमारीहरुले मासु खानु राम्रो मानिन्छ।

मृगौलाका बिमारीहरुले मासुको परिकारहरु (ससेज, ह्याम, वाकन) आदि खान उपयुक्त नभए पनि घरमा नुन कम हालेर पकाएको मासु थोरै मात्रामा खान मिल्छ। जन्डिस अर्थात कमलपित्तमा पनि मासु खान सकिन् । तर जन्डिसका बिमारीले खाने मासु बोसो, चिल्लो र मसलारहित हुनु पर्छ। रक्तअल्पता, क्यान्सर, क्षयरोग, यौनरोग, छालाका आदिका बिमारीहरुका लागि मासु राम्रो मानिन्छ।

अचेल मासु र मद्यपान एकअर्काका पूरकजस्तै भइसकेका छन्। तर मद्यपानले अर्थात् त्यसमा रहेको इथानोलले पेटको खराबी, पाचनप्रणालीमा नकारात्मक असर, दिमागको खराबी, विभिन्न ग्रन्थीहरु तथा रोगविरुद्ध लड्ने शक्तिमा असर गर्दैन भन्न सकिदैन। अझ मसलादार, चिल्लो, पिरो मासुका परिकारहरुसँग मद्यपान अर्थात रक्सी, बियर, वाइन एवं हिवस्की प्रयोग गर्नाले पेट तथा कलेजोमा असर पर्छ।

यसले कसै कसैलाई तुरुन्त बान्ता हुने, पखाला चल्नेसमेत हुन सक्छ। लामो समयसम्म रक्सी तथा मासु सेवन गर्नाले कलेजो खराब भएर जाने एवं रगत बान्ता गर्ने पनि हुनसक्छ।

यसबाहेक पेटको अल्सर क्यान्सर, रक्तअल्पता, दुर्बलता, प्याङक्रियाजको समस्या आदि हुन सक्छ। यस्तो अवस्थामा हरियो सलाद फलफूल तथा अन्य पोषिला खानेकुराहरु खानाले स्वास्थ्यमा पर्ने असरलाई केही कम गर्न सकिन्छ। तर कलेजो राम्रो र स्वस्थ्य बनाउन मद्यपान सेवन नगरेको नै उत्तम हुन्छ।

दसैँ मनाउँदा रमाइलो त गरौं। मन पर्ने खानेकुरा खाऔं। तर मुख्य कुरा स्वास्थ्यलाई ध्यान दिऔं।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु