चाडपर्व परिवारसँगै बसेर रमाउने चाहना सबैको हुन्छ तर निकै थोरै मानिसको मात्रै पूरा हुन्छ। वैदेशिक रोजगारी र गुणस्तरीय उच्च शिक्षा ग्रहण गर्न विदेशिएका नेपालीहरु चाडपर्व आउन थालेसँगै घर गाउँका यादमा पिरोलिन्छन्। नेपाल हुँदा परिवार, साथीभाइसँगका रमाइला क्षण सम्झन्छन् र जसोतसो आफूलाई सम्हाल्दै आफ्नो कर्म जारी राख्छन्।
नेपालमा यतिबेला वडा दसैँ चलिरहेको छ। सबैभन्दा लामो चाडका रुपमा मनाइँदै आएको वडा दसैँको आज नवौं दिन हो। भोलि दसौँ दिन देवीको प्रसादका रुपमा परिवार, आफन्त र मान्यजनको हातबाट टीका, जमरा र आशिर्बाद लिइन्छ। औपचारिक रुपमा दसैँ भोलि नै समापन हुने भएपनि कोजाग्रत पूर्णिमासम्म आशिष ग्रहण गर्ने प्रक्रिया भने चलि नै रहन्छ।
नेपालमा हुनेले परिवार, आफन्त, मान्यजन र साथीभाइसँग दसैँ मनाउँदा परदेशमा हुनेले कसरी दसैँ मनाउँछन् भन्नेबारे हामीले विदेशमा रहेका नेपालीसँग कुराकानी गरेका छौँः
क्रिभिस ढकाल
उमेरले २५ नकटेका ढकाल क्रोसिया पुगेको एक वर्ष पुग्नै लाग्यो । सुनसरी स्थायी घर भएका उनी दसैँमा घरको याद आउने बताउँछन्। ‘घरबाहिर यो मेरो पहिलो दसैँ हो’ ढकालले भने, ‘यता दाइहरु हुनुहुन्छ वहाँहरुसँग नै यसपटकको दसैँ मनाउने तयारी छ। अलि खल्लो छ तर नि अर्काको देशमा छु, जस्तो हुन्छ त्यस्तै मनाउने सोचमा छु।
सुमन थापा मगर
युएईमा तीन वर्षदेखि कार्यरत मगर यसपटक पनि दसैँ बिदामा घर फर्किन पाएनन्। घर फर्कन नपाए पनि मगर दसैँ युएईमा साथीभाइसँग रमाइलो गरेर मनाउने तयारीमा छन्। ‘टीका जमरा लगाइँदैन तर साथीभाइ सबैले छुट्टी लिएका छौँ, टीकाको दिन रमाइलो गरेर मनाउने तयारी छ’ मगर भन्छन्, ‘घर याद त आउने भइहाल्यो तर यता आएको पनि अब तीन वर्ष हुन लाग्यो अब त बानी परियो विदेशमा दसैँ मनाउने।’
लक्ष्मी तिम्सिना
जापानस्थित फुकुओका सहरमा अध्ययनरत तिम्सिनालाई दसैँ सम्झनै मन लाग्दैन। ‘जापानमा दसैँ भन्न नै पाइदैन त्यसैले सम्झिन मन लाग्दैन’ उनले भनिन्, ‘दसैँको दिन पनि कलेज र काम नै व्यस्त छु।’ टीकाको दिन कलेजमा अध्ययनरत सबै नेपाली भेला भएर टीका र जमरा लगाउने योजना भएको उनले बताइन्।
रुपक श्रेष्ठ
बेलायतमा रहेका श्रेष्ठ दसैँ साथीभाइसँग मिलेर नै मनाउने तयारीमा छन्। ‘काम आफ्नो ठाउँमा छ परम्परा, चाडपर्व आफ्नो ठाउँमा छ’ श्रेष्ठले भने, ‘कामबाट समय निकालेर भएपनि नजिक रहेका साथीहरुसँग मिलेर दसैँ रमाइलो गरी मनाउने तयारी छ।’
शिव तिरुवा
सुन्दरहरैंचा घर भएका तिरुवा घटस्थापनासम्म घरमै थिए। तर तृतीयाका दिन भिसा आएपछि उनी कतार पुगेको बल्ल दुई दिन पुग्यो। मुख्य चाड दसैँको बेला घरगाउँ, परिवार र साथीभाइ छाड्नु पर्दाको पीडा उनको मानसपटालमा ताजै छ। यसपटकको दसैँ कसरी मनाउनुहुन्छ भन्ने एएमजीको प्रश्नमा उनले भने, ‘मैले त कतारमा काम सुरु गरेको पनि छैन यतिबेला रुममा नै छु। दाइ, साथीहरुसँग भर्खरै चिनजान भएको छ। वहाँहरुसँग नै मनाउने तयारीमा छु । बिदा लिने रमाइलाे गर्ने त्यहीँ नै त हाेला’ तिरुवाले भने, ‘घरको याद आइरहेको छ। तर अब विदेश कर्मभूमि बनाएर आएपछि यस्ता क्षण भोग्नै पर्छ भनेर मानसिक रुपमा तयार हुँदैछु।’