दसैंमा मावल जान ठूलै ‘लडाइँ’ जित्नुपर्ने। आमासँग जानका लागि म र भाइबीच झगडा नै हुन्थ्यो। भाइ सानैदेखि बलियो भएकाले उसैले मुड्क्याउने र पेल्ने भइगो तर म पनि के कम! रोएर धेरै नाटक पारेर उसलाई गाली खुवाउँथे र जसोतसो आमासँग मावल जाने मेलो मिलाउँथे।
आमासँग मावल जान पाउँदाको रमाइलो नै बेग्लै। एउटा कुरा सम्झिदा अहिले पनि हाँस उठ्छ। मावलमा सबै खानेकुरा खानुपर्छ भन्ने लाग्थ्यो, त्यही भएर धेरै खाइन्थ्यो। अनि बिसन्चो हुन्थ्यो। तर सबै जना भेला भएको माहोलले त्यो पीडा बिर्संदै जान्थेँ। अब यस्ता दिन कहिल्यै फर्केर आउने छैनन्।अध्ययनको क्रममा काठमाडौं गएपछि घर धेरै मिस हुन्थ्यो। दसैं आउनुभन्दा दुई महिना अगाडिदेखि नै क्यालेन्डरमा आँखा पुग्थे र घर जाने दिन गनेर बसिन्थ्यो।
घर गएपछि सरसफाइ गर्ने, आमालाई सघाउने अनि दसैंको तयारी गर्नेमै व्यस्त भइन्थ्यो। रमाइलै रमाइलोका बीच घर छाड्न भने साह्रै नरमाइलो लाग्थ्यो।घर भएको ठाउँ र पूर्वी इलामका गाउँ ठाउँहरु प्रायः हुस्सु लागिरहने हुन्थ्यो। तर दसैं लाग्ने बेला भएपछि मौसम खुला हुन थाल्थ्यो। छ्याङ्ग उज्यालो हुन्थ्यो। यसले गर्दा चाडवाड आएको प्राकृतिक रुपमै पनि संकेत मिल्थ्यो।
फिक्कल, पशुपतिनगर, शुक्रबारेजस्ता बजारहरुमा निकै चहलपहल हुन्थ्यो। पशुपतिनगर नाकाबाट धेरै नेपालीहरुको आउजाउ हुने गर्थ्यो।
भारततिर रहेका नेपालीहरु दसैंका लागि आउँथे। नेपालबाट पनि दार्जिलिङ, सिक्किमतिर रहेका आफन्तहरुसँग भेटघाटका लागि जाने क्रम बाक्लै हुन्थ्यो।
इलाम र दार्जिलिङ, सिक्किम, मिरिकतिर धेरै बैवाहिक सम्बन्ध जोडिएकाले पनि पर्वका बेला दुबैतर्फको चहलपहलले बेग्लै उमंग अनुभव हुन्थ्यो।
अहिले त झन् घरबाट टाढा भइयो। भनेको समयमा जान सजिलो छैन। झन् दसैंकै साइत जुराएर जान त अझ मुस्किल। यता नानीहरुलाई टीका लगाइदियो, यतै रमायो। अभिभावक भएपछि सन्तानको खुसी नै आफ्नो खुसी लाग्दो रहेछ।
यसपालि चाहिँ अलिक बढी खुसी छौं। दूर देशमा छौं। क्यानाडामा दिदीभिनाजु पनि हामी बसेकै सहरमा हुनुहुन्छ। यसपालि उहाँहरुको हातबाट टीका लगाउन पाउनेछौं। तर जतिसुकै रमाइलो गर्न खोजे पनि होहल्ला र मोजमस्ती गरे पनि नेपालमा हुने रौनक त किन यहाँ हुन्थ्यो र! नेपालमा जस्तो दसैंको रमाइलो र हर्ष संसारमा कहीँ पनि हुन्न जस्तो लाग्छ।
सफा मौसम, स्वच्छ आकाश अनि बिहान-बेलुका अलिअलि चिसो। यो दसैं आगमनको संकेतझैं लाग्थ्यो। दसैं नजिकिँदा केटाकेटी बेलाको रमाइलो धेरै याद आउँछ। त्यो घरको, गाउँको, मामाघर जाँदाको अनि पिङ खेल्दाको।
यिनै स्मृतिले भए पनि मन भुलाउनुपर्ने रहेछ। नयाँ लुगा लाउँदाको, दक्षिणा पाउँदाको अनि लुकेर खाम च्यातेर पैसा हेर्दाको खुसी। ती दिन सम्झेर अझै पनि रोमाञ्चित भइन्छ।
उ:बेला नयाँ लुगा लगाउने अनि साथीहरुलाई देखाउँदाको सान नै छुट्टै हुन्थ्यो। कुनै सालचाहिँ निलो फ्रक र सेतो सर्टमा चित्त बुझाउनुपर्थ्यो। किनकि त्यो नै विद्यालयको ड्रेस र दसैंको लुगा दुवै हुन्थ्यो।
दसैंमा पाउने दक्षिणाको निकै खुलदुली हुने नै भयो। छोरी भएकाले भाइहरुको भन्दा अलि बढी नै पाइन्थ्यो। कहिलेकाहीँ चाहिँ आफ्नोभन्दा अरुको धेरै संकलन भएको थाहा पाएर रिस उठेर आउँथ्यो। मलाई चाहिँ सानी भनेर हेपेका भन्ने लाग्थ्यो। दक्षिणाको पैसाले सुरुसुरुमा बेलुन, चकलेट किनिन्थ्यो। अलिक ठूली भएपछि टिफिनको लागि प्रयोग गरिन्थ्यो।
यता पनि ठाउँ र अवस्थाअनुसार चाडपर्व मनाइन्छ नै। तर जति गरे पनि उता घरमा मनाएको जस्तो नहुने। नेपाल र यहाँको माहोल फरक हुन्छ। उता विद्यालयहरु छुट्टी हुने, पिङ जतासुकै देखिने, सबैको पारिवारिक मिलन। सबैको निधारमा रातो टीका। यी दृश्य सम्पूर्णतामा यहाँ देख्न पाइन्न। तर पनि हामी टीकाको दिन केटाकेटीलाई विद्यालय पठाउन्नौं। सकेसम्म सबै घरमै बसेर दसैं मनाउँछौं।