विराटनगर । जिल्ला भलिबल संघ झापा आफ्नो निर्णयबाट पछि हटेपछि नवौं राष्ट्रिय खेलकुदका लागि भएको खेलाडी चयन प्रक्रियाको विवाद साम्य भएको छ।

संघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले खेलाडी पुकार तामाङलाई गरिएको अनुशासनको कारबाही फुकुवा गरिएपछि प्रदेश छनोटमा समेटिएको जनाएका छन्। उनले प्रदेश छनोटका क्रममा विवाद देखिए पनि संघले बोर्डमा फुकुवा पत्र दिएपछि समस्या नरहेको बताए।

इटहरीमा भदौ २९ बाट असोज १ गतेसम्म भएको प्रदेश छनोटमा सहभागी नभएका खेलाडी तामाङ राष्ट्रिय खेलकुदका लागि टोलीमा समेटिएपछि विवाद भएको थियो।

संघको जिल्ला छनोटमा सहभागी तामाङ बिनाजानकारी पाँचथरमा आयोजित एक प्रतियोगिता खेल्न गएपछि संघले अनुशासनको कार्वाही गर्दै निलम्बन गरेको थियो ।

त्यसपछि इटहरीमा सम्पन्न प्रदेश छनोटको ‘ग्राउण्ड रिर्पोटिङ’ मा समेत नभएका तामाङको नाम प्रदेश छनोटमा राखिएको थियो। अध्यक्ष श्रेष्ठका अनुसार अनुशासनको कार्वाहीपछि तामाङले गल्ती नगर्ने, र उनका परिवार, इष्टमित्रको अनुरोधमा निलम्बन फुकुवा गर्दै पत्र प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ मा जानकारी गराएका थिए।

बोर्डका सदस्य सचिव हंशराज वाग्लेले सम्भावना बोकेका खेलाडीलाई कोर्ट बाहिर राखिनुहुन्न भन्ने अभिप्रायले अन्तिम टोलीमा तामाङलाई समेटिएको जानकारी दिए।

उनले भने, ‘संघ र पदाधिकारीको निर्णय क्षणिक थियो । खेलाडी प्रतियोगिता खेल्नका लागि पाँचथर पुगेका हुन्। खेलाडीले हुन खेल्न पाउनुपर्छ। खेलबाहिर अन्यत्र जाँदाको कुरा बेग्लै हो। यही कारण खेलाडीलाई टोलीबाट हटाउनु हुँदैन।’

यसैबीच, प्रदेश छनोटमा तेस्रोमा स्थानमा समेटिएको संखुवासभा भलिबल संघले आफ्नो कुनै खेलाडी अन्तिम टोलीमा नपर्नुमा आपति जनाएको छ।

संघका अध्यक्ष मेदिनी घिमिरेले प्रदेश छनोटमा संखुवासभा तेस्रो स्थानमा अटाउँदा समेत एकजना खेलाडी टोलीमा नपर्दा आश्चर्य भएको प्रतिक्रिया दिएका छन्।

49
Shares
१७ आश्विन २०७९, सोमबार १८:५१