पहिले एकै गाउँका ठाउँ ठाउँमा लिङ्गे पिङ हालिएको हुन्थ्यो। दसैँका बेला गाउँ डुल्दै पिङ्ग खेलेर रमाइलो गर्ने चलन निकै थियो। अचेल यस्तो विरलै देख्न पाइन्छ।
दसैँ भन्नासाथ अग्रजबाट टीका, जमरासँगै आशिर्बाद लिने, मिठा परिकारहरु खाने चलन छ। यही बेला लिङ्गे पिङको महत्व पनि धेरे हुन्छ। पहिले रोटेपिङ पनि हुन्थे। अचेल रोटेपिङ त देख्नै मुस्किल छ।
अचेल लिङ्गे पिङ चाहिँ फाट्टफुट्ट देख्न पाइए पनि पहिलेजस्तो छैन। लगभग लोप हुने अवस्थामा पुगेको छ। यही अवस्थाबाट चिन्तित प्रदेश १ का विभिन्न स्थानका युवा संरक्षणमा जुटेका छन्।
मोरङको सुन्दरहरैंचा नगरपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाका युवाहरूले संस्कृतिलाई निरन्तरता दिन आफ्नै पहलमा लिङ्गेपिङ बनाएर दसैँमा रौनकता थप्ने प्रयास गरेका छन्।
सहरमा प्रयोग हुन छाडेर विस्थापित भइसकेको लिङ्गेपिङ गाउँबाट समेत लोप हुन थालेपछि त्यसलाई जोगाउन आफूहरूले सक्ने प्रयास गर्दै गाउँमा लिङ्गेपिङ बनाएर सञ्चालनमा ल्याएको सुन्दरहरैंचाका सन्दिप दाहाल बताउँछन्।
‘पहिले एकै गाउँमा तीन–चार वटा लिङ्गेपिङ बनाइएका हुन्थे, आजभोलि एउटा भेट्न नै मुस्किल पर्न थालेको छ’ दाहाल भन्छन्, ‘हिन्दुहरूको संस्कृति र परम्परासँग जोडिएको पिङको महत्त्व र प्रयोग घट्दै जान थालेपछि यस पटक हामी आफैं अग्रसर भएका हौँ।’
स्थानीय युवा समूहले प्रयोगपछि फिर्ता ल्याइदिने सर्तमा गाउँबाट बाँस र पिङमा प्रयोग हुने डोरीलगायत सामग्रीका लागि आफैँ रकम उठाएर लिङ्गे पिङ बनाएका हुन्।
गाउँका बुढापाकाले बनाउने र गाड्ने विधि सिकाइदिएकाले खासै समस्या नभएको अनुभव सुन्दरहरैंचाका युवाले बताए।
पिङ खेल्न विभिन्न गाउँका बालबालिकादेखि वृद्धवृद्धासम्म स्थानीय आउने गरेका छन्। आफ्नो घरैछेउ पिङ खेल्न पाएपछि राम कट्वाल हर्षित छन्।
‘पहिले हामी खेल्न अरूको गाउँ–गाउँ खोज्दै हिँड्नुपर्थ्यो। यसपटक हाम्रै गाउँमा दाइहरु मिलेर गाडेको पिङ खेल्न पाएका छौँ, खुसी लागिरहेको छ।’
‘लोप हुन लागेपछि संरक्षणमा जुटेका हौँ’
गाउँबाट युवा जनशक्ति पलायन हुँदा लिङ्गे पिङतर्फ मानिसको ध्यान जान नसकेको अनुभव संखुवासभा मुडेका स्थानीय विवेक खड्का सुनाउँछन्।
‘पहिले कसले अग्लो बनाउने, कसको पिङ्ग बढी मच्चिने भनेर स्थानीय युवाहरु लागि पर्थे। तर आजभोलि त्यो परिवर्तन भएको छ’ खड्का सुनाउँछन्, ‘हाम्रो क्षेत्रमा युवाहरुको अभाव देखिन थालेको छ। गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन्। त्यसैले पिङ संरक्षणमा आफूहरुले सक्ने प्रयास गरेका छौँ।’
बाबियो र जुटको डोरी उपलब्ध हुन नसकेपछि नहरको डोरी नै प्रयोग गरेर भएपनि यस पटक पिङ बनाइएको उनले बताए।
हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँमा अत्यधिक प्रयोग हुने गरेको लिङ्गेपिङसँग हिन्दु धर्मावलम्बीहरूको आस्था र विश्वाससमेत जोडिएको छ।
दसैँमा टीका–जमरा लगाएपछि एकछिनका लागि भए पनि धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ। त्यहीँ मान्यताअनुसार दसैँको टीका–जमरा लगाएपछि लिङ्गेपिङ प्रयोग गर्ने गरिएको छ।