मतदाताको संख्या, भूगोल र मतदान केन्द्रको संख्यालाई आधार मानेर खर्चको सीमा तोकिएको उनको भनाई छ। २०७४ सालको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमालाई आधार मानेर आगामी निर्वाचनमा उम्मेदवारले खर्च गर्ने सीमा निर्धारण गरिएको उनले बताए।
तोकिएको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा वा विद्युतीय माध्यम सामाजिक सञ्जाल समेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनजस्ता विषयमा खर्च गर्न सकिने जनाइएको छ।निर्वाचन सम्पन्न भएपश्चात अन्तिम परिणाम प्रकाशित भएको ३० दिनभित्र सम्बन्धित उम्मेदवारहरुले आयोगमा खर्चको विवरण पेस गर्नुपर्ने भनिएको छ।
आयोगले २०७४ को निर्वाचनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रतर्फ प्रतिउम्मेदवार २५ लाख रुपैयाँ खर्च सीमा तोकेको थियो। प्रवक्ता पौडेलले प्रतिनिधि सभा सदस्यतर्फ ५ वटा निर्वाचन क्षेत्रमा २५ लाख रुपैयाँ, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख रुपैयाँ तोकिएको जानकारी दिए।यसैगरी ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख रुपैयाँ, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख रुपैयाँ र २६ वटा निर्वाचन क्षेत्रमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेगरी सीमा तोकिएको जानकारी उनले दिए।
प्रदेश सभा सदस्यतर्फ ७० वटा निर्वाचन क्षेत्रमा १५ लाख रुपैयाँ, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख रुपैयाँ र ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख रुपैयाँ खर्चको सिमा तोकिएको आयोगले जनाएको छ।
त्यस्तै २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख रुपैयाँ र ३२ वटा निर्वाचन क्षेत्रमा २३ लाख रुपैयाँ तोकिएको छ। प्रवक्ता पौडेलका अनुसार समानुपातिक तर्फका सदस्यहरुको भने राजनीतिक दललाई खर्चको सीमा तोकिएको छ । जसअनुसार दलले उठाएको सदस्यका आधारमा प्रति सदस्य प्रतिनिधि सभातर्फ २ लाख रुपैयाँ र प्रदेश सभा तर्फ १ लाख ५० हजार रुपैयाँ तोकिएको छ।
आयोगका प्रवक्ता पौडेलले खर्च सीमा बारे जानकारी दिँदै भने–
विगतको भन्दा अहिले केही आधारहरु तोकेर वैज्ञानिक रुपमा खर्चको सीमा निर्धारण गरिएको छ। विगतमा चाहे जुम्ला होस् चाहे हुम्ला होस् एउटै दर थियो। काठमाडौं, रौतहट, झापामा एउटै थियो भने अहिले फरकफरक गरिएको छ।
यसका लागि तीनवटा आधार तोकिएको छ। एउटा, मतदाताको संख्या, भूगोल र मतदान केन्द्रको संख्या। मतदाताको संख्यालाई ६० प्रतिशत भार दिइएको छ। मतदान केन्द्र संख्यामा २० दिइएको छ। भूगोललाई २० प्रतिशत भारको आधारमा एउटा सूत्र बनाएर निर्धारण गरिएको छ। सबै निर्वाचन क्षेत्र अनुसार छ। समग्रमा प्रतिनिधि सभा सदस्यतर्फ ५ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्च २५ लाख तोकिएको छ।
१७ वटा निर्वाचन क्षेत्रमा २७ लाख तोकिएको छ। ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख तोकिएको छ। ५२ वटा निर्वाचन क्षेत्रका लागि ३१ लाख तोकिएको छ भने २६ वटा निर्वाचन क्षेत्रका लागि ३३ लाख तोकिएको छ।
त्यसैगरी प्रदेश सभातर्फ ७० वटा निर्वाचन क्षेत्रहरुको लागि १५ लाख तोकिएको छ। १४३ वटा निर्वाचन क्षेत्रहरुको लागि १७ लाख तोकिएको छ। ५६ वटा निर्वाचन क्षेत्रको लागि १९ लाख तोकिएको छ।
२९ वटा निर्वाचन क्षेत्रको लागि २१ लाख तोकिएको छ भने ३२ वटा निर्वाचन क्षेत्रका लागि २३ लाख तोकिएको छ। त्यस्तै समानुपातिकतर्फ सदस्यलाई भन्दा दललाई खर्च तोकिएको छ। दलले उठाएको सदस्यका आधारमा प्रतिसदस्य प्रतिनिधि सभातर्फ २ लाख र प्रदेश सभातर्फ १ लाख ५० हजार तोकिएको छ।