विराटनगर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन्।
संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवारदेखि संघको कार्यकारी अध्यक्ष सम्हालेकी हुन्।
महाधिवेशनले बहुपदीय प्रणालीअनुरुप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो।
संघको शनिवार भरर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठकमा बोल्दै आचार्यले महाधिवेशनको म्याण्डेट अनुरुप आफूले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए।
बैठकमा बोल्दै कार्यकारी अध्यक्ष थापाले पछिल्लो ६ महिनामा आचार्यले संघको लागि गरेको योगदानको प्रशंसा गरेकी थिइन्।
आचार्य अब संघभित्र सेरोमोनियल अध्यक्षको रुपमा कायम रहने छन् भने ६ महिनापछि अर्का अध्यक्ष डा. बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोवरमा हुने ११ औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन्।