विराटनगर । बडा दसैँका अवसरमा विराटनगरको निशान भगवतीमा आज आइतबार फूलपाती भित्र्याइएको छ।
मालपोत र अदालतको परिसरमा रहेको निशान भगवती मन्दिरबाट फूलपातीका क्रममा सामूहिक यात्रा गर्दै बंगलामुखी मन्दिरमा पुगेर पूजा गरिएको थियो। त्यसपछि काली मन्दिर पूजा गरिएको थियो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, विराटनगरका मेयरलगायतको सहभागिता थियो। यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अरु निकायका सरकारी अधिकारीहरुको पनि सहभागिता थियो।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने चलन छ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।
फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ।