विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष रहेका उनी यही पार्टीबाट उम्मेदवार बनेर इटहरीको मेयरमा विजयी भएका थिए।
चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा पार्टीमा प्रवेश गराएका हुन्।
चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट आगामी प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।
दलीय गठबन्धनमा प्रतिनिधिसभामा सुनसरी क्षेत्र नम्बर २ काँग्रेसको भागमा परेको छ। उक्त क्षेत्रको प्रदेशसभा ‘क’ भने माओवादीको भागमा परेको छ।
चौधरी २०४१ सालदेखि एमालेको भातृ संगठन अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए।
२०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।
२०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए।
इटहरीको मेयर रहँदा उनी चर्चासँगै विवादमा तानिएका थिए। कहिले पत्रकारको नाक भाँचिदिने भन्ने अनि कहिले भ्रष्ट कर्मचारीलाई कार्यालयबाट निकाल्ने जस्ता कामले उनी चर्चा र विवादमा आएका थिए।