क्यानाडामा ‘समर’ को गर्मी सकिएर साँझ-बिहान हल्का चिसो र दिउँसो घमाइलो हुन थालेको छ। बिस्तारै हरिया रुखहरु रंगीचंगी हुन थालेका छन्। मनमा एक तमासको रमाइलो छाएको छ।
दसैंको मिठो सम्झनाले यो मन यतिबेला विदेशी भूमिबाट स्वदेशको प्यारो ठाउँ पुर्याएको छ। लाग्छ, यहाँका रुखका राता पातहरु दसैंको टीका लगाएर मुस्कुराइरहेका छन्।
मन्दमन्द चलेको बताससँग जब ती राता-पहेँला पात साउती मार्छन्, यो मन चंगाझै उडेर त्यहीँ पुग्छ जान्छ जहाँ त्यो मिठो बालापन छ। मेरो देश छ। मेरो घर अनि म जन्मेको मेरो प्यारो आँगन छ।
प्रत्येक वर्ष यसरी नै यो मन दसैंमा घर पुगेको हुन्छ। मन देशमा आफू विदेशमा। घरगाउँको जस्तो उत्साह यहाँ कहाँ पाउनु! कहाँ त्यहाँको जस्तो उल्लास! जसोतसो दसैं मान्नुपर्छ। आफ्नो संस्कृति र संस्कार बचाउनुपर्छ नत्र भावी पुस्ताले कसरी संस्कृति जगेर्ना गर्छन् र!
सकेसम्म मिलेसम्म मन्दिर गयो। नवदुर्गामा व्रत बस्यो अनि साथीभाइका बुबाआमासँग टीका लगायो। परदेशमा दसैंको औपचारिकता यही हो।
घरको नियास्रो मेट्न साथीहरु मिलेर सँगै बस्ने रमाइलो गर्ने चलन पनि छ। बाहिर समुदायमा पैसा तिरेर ठूलो भोजको आयोजना पनि हुन्छ।
यो मन भने खालि स्वदेशी भूमिमा डुलिरहेको छ। त्यहीँको दसैं माहोलमा आफूलाई पाइरहेको छु। आहा ती पो फुक्काफाल दिन थिए।
कुनै चिन्ता नभएको। कुनै जिम्मेवारी नपाएको। स्कुल गयो-आयो। साथीहरुसँग खेल्यो रमायो। गुरुबा-गुरुआमाले दिएको गृहकार्य गर्नुबाहेक अरु केही थिएन। दसैंको लामो छुट्टीमा जतासुकै रमाइलो।
दसैंमा घरमा ठूलाहरु सबै व्यस्त रहन्थे। कोही किनमेलमा। कोही घर-आँगन सफाइमा।
प्रत्येकलाई नयाँ लुगा, जुत्ता-चप्पललेखि अन्य आवश्यकताका सामान चाहिने। मीठा पकवानले घर मगमगाउन थाल्थ्यो। घर टालटुल, लिपपोतदेखि रङ्ग्याएर चिटिक्क पार्ने काम हुन्थ्यो।
बारीभरि लटरम्म फलफूल र तरकारी, आँगन वरिपरि सयपत्री, मखमली, गोदावरी ढकमक्क फुलिरहेका। दसैंको वातावरण साँच्चिकै उल्लासमय बन्थ्यो।
मन्दिरमा बजेका शंख घण्टले वातावरण गुन्जायमान हुन्थ्यो। अरु चिन्ता दुर हुन्थे किनकि दसैंले आफै मनमा स्फूर्ति बोकेर ल्याउँथ्यो।
जति लुगा भए पनि केटाकेटी बेला नयाँ कपडा पाउने खुसी नै अर्को हुँदो रहेछ। हुन त अहिले पनि नहुने होइन तर त्यो बेलाको विशेष आकर्षण नै नयाँ लुगा।
नयाँ लुगामा चिटिक्क परेर हिँड्दा आफू त एकादेशकी राजकुमारी हुँ की जस्तो लाग्थ्यो!
चचहुई गर्दै दाजु-दिदी-बैनी र साथीहरुसँग पिङ खेल्नुको मजा कहाँ वर्णन गर्न सकिन्छ र!
सबै सँगै बसेर खुसी बाँडेर बस्नु र रमाइलो गर्नु नै दसैं रहेछ जस्तो लाग्छ। नवदुर्गाभर बुबा विशेष देवी पूजामा व्यस्त हुनुहुन्थ्यो। आधा दिन त पूजा मै जान्थ्यो।
नवदुर्गा पूजाका लागि फूल टिपेर ठिक्क पार्ने काम हामी केटाकेटीकै हुन्थ्यो। अष्टमी-नवमीमा बलि दिन घिरौंला, लौकामा सिन्काको सिङपुच्छर बनाउँदा खुब मज्जा लाग्थ्यो। अहिले आएर लाग्छ के बलि दिनैपर्ने हो त? बलिबिना देवी खुसी हुन्नन्?
विजया दशमीको दिन जब घरमा बुबासँग आशीर्वाद लिन अन्य परिवारजन र पाहुनाको ताँती लाग्थ्यो अनि त झन् रमाइलो हुन्थ्यो। अहिले त को कहाँ को कहाँ! अब कहिल्यै फर्किने छैनन् ती दिन।
अब त आफै अभिभावकको जिम्मेवारीमा छु। जसरी बुबा-आमा हाम्रो खुसीमा रमाउँथे, उसरी नै हामी हाम्रा सन्ततिको खुसीमा आनन्दित हुनुपरेको छ।
जिम्मेवारी लिनु र कर्तव्य निभाउनुको पनि आफ्नो रमाइलो हुँदो रहेछ। आफूले अरुका लागि सोच्नु, अरुको खुसीमा आफू रमाउनु पनी खुसी नै रहेछ।
चाडपर्व भनेकै खुसी भित्र्याउने बहाना हुन्। त्यसैले त चाड आउँदा हाम्रो मन रमाउॅंछ। घरबार भएपछि र जिम्मेवारीले थिचेपछि बल्ल बुझियो, दसैं के हो र बाउ-आमाको कर्तव्य कस्तो हुनुपर्छ भन्ने।
पारिवारिक व्यवस्थापन अनि आर्थिक जोहोको महत्व यही बेला बुझिने रहेछ। तर सबैले कहाँ दसैं रमाइलो बनाउन सक्छन् र! कतिलाई दशा पनि भएर आउॅंदो रहेछ अनि मनै खिन्न बनाएर पुर्पुरोमा ऋणको भारी बोकाएर जाँदो रहेछ।
हामीले पाएजस्तो रमाइलो हाम्रा केटाकेटीले भोग्न पाएनन्, देख्न पनि पाएनन्। विदेशमा जन्मेहुर्केकाले दसैंको मौलिकतामा भिज्न पाएनन्। न उनीहरु दसैं भन्दा हुरुक्क गर्छन् न हाम्लाई जस्तो रमाइलो नै लाग्छ। क्रिसमस आउँदा पो बरु उनीहरु मक्ख पर्छन्!
बा-आमाले बर्ष को दुई दिन सिकाएर मात्र हुँदो रहेनछ। साथीभाइ, छरछिमेक, स्कुल समाज जतासुकै देख्न, सुन्न पनि पर्ने रहेछ।
म बसेको सहरमा विभिन्न धर्म र संस्कृति भएका मानिसको बाहुल्य छ। त्यसो भएकाले उनीहरुमा बाह्य संस्कृतिको प्रभाव पनि देखिन्छ।
अघिल्ला वर्षमा जस्तो यतिबेला दसैंको उति धेरै रौनक छैन। कोरोना कहरले गर्दा सबैतिर असर परेको छ।
तर पनि पर्व भनेको पर्व नै हो। योपालि धेरै खुलेर मनाउन नपाए पनि अर्को साल धुमधामसँग खुसीका साथ दसैं मनाउन पाइयोस्।
परिस्थिति असहज भए पनि जो जहाँ छौं त्यहीँ रमाएर सुरक्षाका साथ दसैं मनाऔं।
दसैं यसै पनि उमंगको पर्व हो। शक्तिको उपासना गर्ने बेला हो। सबै दुःख कष्ट बिर्सेर रमाउने बेला हो। कवि शिरोमणि लेखनाथ पौड्यालले त्यसै भनेका होइनन्–
हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा,
भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा
जता जाउ उतै भन्छन् दसैं आयो दसैं आयो
यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो।