खोटाङ । दसैँ, तिहारलगायत चाड पर्वका बेला शान्ति सुव्यवस्था खल्बलिन नदिन जिल्ला प्रहरी कार्यालयले विशेष निगरानी गर्ने भएको छ। पर्वका बेला हुन सक्ने सम्भावित झगडा, चोरी, लुटपाट, सवारी दुर्घटना, कालोबजारी, आगलागी जस्ता घटना नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।

पर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सहयोगका लागि यात्रु सहायता कक्ष पनि स्थापना गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ रत्नपार्क किराँतचोकमा कक्ष स्थापना गरिएको हो।

यसैबीच, खोटाङ प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। यस्तै, सर्वोच्च अदालतको फैसलाअनुसार १० वर्ष कैद सजाय पाएका बाँसपानी ४ का ६० वर्षीय धिलु राईलाई धारिलो हतियार प्रहार गरी गहना लुटेर फार रहेका नारायण राईलाई तनहुा प्रहरीको सहयोगमा पक्राउ गरिएको छ।

इलाका प्रहरी हलेसीको टोलीले हलेसीका विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गरेर नष्ट गरेको छ।

प्रहरीले बजार अनुगमनका क्रममा फेला पारेका म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरेको जनाएको छ।

जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रहरी हलेसी र स्थानीय पालिका तथा करदाता सेवा कार्यालयलगायतको अनुगमन टोलीले बजारमा बिस्कुट, चियो पेय, जुस जस्ता सामानहरु म्याद गुज्रेको फेला पारेको थियो।

प्रहरीले असोज १ गतेयता नियमविपरीत सञ्चालित १५० वटा साधनलाई कारबाही गरी एक लाख रुपैयाँ राजश्व असुल गरेको छ। प्रहरीले दैनिक रुपमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेहरुमाथि पनि निगरानी र जाँच गर्दै आएको छ।

126
Shares
१५ आश्विन २०७९, शनिबार २०:०९