भेटिन्छन् ‘म’ नै ‘म’ हरु जतासुकै
रुप, राग र रङ्गहरुका पहिरन जुनसुकै
मैमत्ता छ ‘म’ आफ्नो उन्माद जवानीमा
संसारै जित्ने काल्पनिक यात्राको सपनीमा।
‘म’ हरुलाई खोज्दै छन् एक हुल ‘हामी’ पनि
खोज्दैछन् ‘हामी’ भित्रै पनि छम’ छ कि कतै भनी।
घमण्ड, अहंकार, क्रोध र कुण्ठा छ ‘म’ भित्रै
यत्र, तत्र, सर्वत्र भइ के भयो एकलिन्छ मनभित्रै।
‘म’ कहिले भीडमा छ कहिले फगत एक्लो छ
‘म’ भित्रको हीनताबोध घरिघरि चिच्याउँछ।
उकुस मुकुस भएर ‘हामी’ खोज्दै हिंड्छ ‘म’
‘म’ लाई देखेर ‘हामी’ खिस्स हाँसो छोड्छ।
‘म’ अझ दम्भका साथ नाकका पोरा फुलाउँछ
‘हामी’ झन के कम मूर्दावादको नारा लगाउँछ।
‘म’ एक्लिएको छ आज त्यो माथि देउरालीमा
उडिगए सपना त्यसै त्यसै छैन कोही साथमा।
उ बोल्न खोज्छ, अंहकारले गला निमोठ्छ
इर्ष्या, क्रोध र मोहको ज्वालाले फेरि चिमोट्छ।
अटाउँदैन ‘हामी’ त्यो तिम्रो सानो सोचमा
फक्रन्छन् थुप्रै ‘म’ हरु त्यो शब्द ‘हामी’ मा।
झिकिदेउ तिम्रा कुण्ठाका फणा कसैगरी
मिसिदेउ ‘म’ हरु ‘हामी’ मा पवित्र गंगासरि।
‘म’ चिच्याउँछ, कराउँछ, बरबराउँछ सपनीमा पनि
‘हामी’ पग्लिएर बगिदिन थाल्छ करुणा बनी।
चिच्याइरहेको ‘म’ टुक्रिन्छ चट्टानसरि,
बालुवा बनी बगिदिनेछौ मित्र त्यसैगरी।
छरिन्छन ‘म’ हरु बालुवासरि,
पोखिन्छन ‘म’ हरु सागरभरि,
रित्तिन्छन ‘म’ हरु खहरेसरि,
एक्लिन्छन् ‘म’ हरु कसैगरी
नेपाल आमाका हामी तीन करोड तारा,
जित्नु छैन संसार त्यो पारेर बैरी सारा।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु