विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा पाहुना टोलीलाई हराउँदै आयोजक फाइनलमा पुगेको छ। प्रतियोगिताको उपाधिका लागि शनिबार राति आयोजक र दमकको दमक–लखनपुर भेट्रान क्लबलबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताअन्तर्गत शुक्रबार भएको रात्रिकालीन खेलमा पाहुना टोली धरानको हाम्रो भेट्रान क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरमा पराजित गर्दै आयोजक फाइनलमा पुगेको हो।
धरानले मध्यान्तरअघि २ गोलले अग्रता लिए पनि मध्यान्तरपछि आयोजकले २ गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए। दुवै टोलीको गोल संख्या बराबरी भएपछि खेल टाब्रेकरमा गएको हो।
आयोजकका दीपने राई, मित्रबहादुर बस्नेत, संजीव बुढाथोकी र भुपेन्द्र भेषराज लिम्बूले गोल गरे भने तोयाराम भुजेलको प्रहारलाई गोलरक्षकले विफल पारे। त्यस्तै धरानका सतिश केसी, सन्तोष सुब्बा लिम्बू र विवेक राना मगरले गरे भने सुमन केसी र राजकुमार राई गोल गर्न चुके।
खेलको १२ औं मिनेटमा धरानका सन्तोष राईले बक्स अगाडिबाट गरेको सिधा बल प्रहारलाई गोलरक्षकले रोक्ने कुनै मौका पाएनन्। रविकुमार राईले दिएको क्रसपासमा १५ औं मिनेटमा धरानका तीर्थ आले मगरले गोल संख्या दोब्बर पारे।
त्यस्तै ४७ औं मिनेटमा आयोजक दीपेनप्रसाद बास्कोटाले गोल गर्दै गोल संख्या कम गरे। ५९ औं मिनेटमा मित्रबहादुर बस्नेतले आयोजकका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको म्याद अफ द म्याच आयोजकका गोलरक्षक सुनीलकुमार तामाङ घोषित भए।