प्रतीकात्मक तस्बिर।
विराटनगर । विराटनगरबाट दुईजना कैदीबन्दी फरार भएका छन्। क्षयरोग निवारण संस्था विराटनगरमा उपचारका लागि भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन्।
दुवैजना जिल्ला कारागार झापामा थिए। क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो।
क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए। जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरु शनिबार बिहान फरार भएका हुन्।
उनका अनुसार हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन्। झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो।
झापा गाउँपालिका ३ का गुरुङ भने लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।
विभागको निर्देशनपछि दुबैको क्षयरोग निवारण संस्थामा राखेर उपचार हुँदै गरेको अवस्थामा फरार भएको उनले जनाए।
उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शनिबार फरार भएकाहरुको खोजी तीव्र बनाइएको छ।
उनले सुरक्षामा खटिएका प्रहरीमाथि पनि छानबिन भइरहेको बताए। ‘फरार भएकाहरुको खोजीकार्य जारी छ’ उनले भने, ‘ड्युटीमा लापरबाही देखिएकाले आन्तरिक छानविन पनि गरिरहेका छौं।’