विराटनगर । आगामी चुनावका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको उम्मेदवारको सूचीलाई लिएर नेपाली कांग्रेसभित्र जारी विवादले नयाँ रुप लिएको छ।

नेता शेखर कोइराला पक्षले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षका नेता नगन्य मात्रामा मात्रै राखिएकोमा असन्तुष्टि राख्दै विरोध गरिरहेको छ।

आफ्ना पक्षका नामको वरीयता क्रम पनि तल पारिएको भन्दै कोइराला पक्षले आन्दोलन गर्दै आएको छ।

समस्या समाधानका लागि संस्थापन पक्ष र नेता कोइराला पक्षबीच छलफल पनि सुरु भएको छ।

काठमाडौंमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएकाहरुको नाम बन्द सूचीबाट हटाउने प्रस्ताव गरेका थिए।

त्यसमा कोइराला पक्ष सकारात्मक देखिएको थियो। तर, देउवाले आफू पक्षका मनोनीत केन्द्रीय सदस्यको नाम समानुपातिकको बन्दसूचीबाट नहटाउने, कोइराला पक्षकालाई भने सो नियम लागू गर्ने संकेत गरेका छन्।

शेखर समूहले भने नियम दुवै पक्षलाई समान रुपमा लागू गर्नुपर्ने माग गरेको छ। शेखर समूहले प्रत्यक्ष तथा समानुपातिकमा आफ्ना नेतालाई अवसर नदिएको भन्दै विरोध गर्दै आएको छ।

देउवाको नयाँ प्रस्ताव र त्यसको कार्यान्वयन एकपक्षीय रुपमा गर्दा आफ्ना तर्फबाट सूचीमा परेकाहरुको मात्रै नाम काटिने देखेपछि कोइराला पक्ष सशंकित बनेको छ।

निर्वाचन आयोगले दलहरुलाई समानुपातिकको बन्दसूची सच्याउन असोज १६ गतेसम्मको समय दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु