सतिसकुमार राजवंशी
‘बरफ ले लो… बरफ’ बजारतिर यो आवाज सुन्यो कि ध्रुबबहादुर क्षेत्रीलाई दसैँ आइसकेछ भन्ने भान पर्छ। यस्तो किन हुन्छ भने ८० वसन्त पार गरिसकेका उनलाई बाल्यकाल अनि युवावयमा दसैँलगायत पर्वका बेला यो आवाजले अभ्यस्त बनाइसकेको छ।
बिहानैदेखि ढोलको आवाज, मिठो खाना, काली मन्दिरको मेला, सुतीको पाइन्ट–सर्ट, खेतमा झुलेका धानका बाला, निधारमा रातो टीका। लिङ्गे पिङको मच्चाई, माटाका हात्ती–घोडा, कचौडी–पकौडी, गाउँलेको घुइँचो।
यी सबै कुराले क्षेत्रीलाई अझ पनि उसैगरी लोभ्याउँछन्, जसरी उनी बाल्यकाल अनि युवा अवस्थामा साथीभाइसँग दिनभरि मेलामा डुलिहिंड्दा लोभिन्थे।
एक रुपैयाँको ढ्याक बोकेर जाँदा खर्च गरिवरी दुई–चार पैसा बचाउँथे पनि। बुवाआमाले टीका लगाएर दुई रुपैयाँ दिंदा ‘संसारकै धनी भएँ’ भन्ने महसुस हुन्थ्यो उनलाई।
दसैँ आएपछि उनको सम्झनामा उबेलाको चहलपहल ताजा भएर आउँछ। बुवाले दसैँका लागि ८० रुपैयाँमा खसी ल्याएको सम्झन्छन्।
उनले सम्झेसम्म पाँच रुपैयाँमा खसीको एक किलो मासु आउँथ्यो। सप्तमीदेखि मेला लाग्थ्यो। काली मन्दिरमा लाग्ने मेलामा नयाँ–नयाँ खेलौना देख्न पाइन्थ्यो।
फरक वर्णका मानिस र तिनको नौलो भेषभुषा देख्दा अचम्म लाग्थ्यो। गाउँलेका भेषभुषा कस्तो गज्जब, टिलिक्क टल्कने। धोती–कुर्तामा ‘काला वर्ण’ का मान्छे, कपाल टल्कने गरी लगाएको तोरीको तेल निधारबाट तपतप चुहिएको अझै याद आउने क्षेत्री सुनाउँछन्।
आमाले उनीहरु यहीँका आदिबासी भएको, उनीहरुको मौलिक पहिरन नै त्यही हो, हामीले सबैको जातिको सम्मान गर्नुपछै भनेको उनलाई झलझली हुन्छ।
विराटनगरमा उतिबेला भर्खरभर्खर बस चल्न थालेको थियो। बुवा आमाले आफूहरुलाई बसमा चढाएर धरान बजारसम्म पुर्याएको उनी सम्झन्छन्।
त्यहाँबाट घण्टौं हिँडेपछि भोजपुरस्थित मामाघर पुगिन्थ्यो। लामो समय पहाडी उकाली ओराली हिंड्दा ज्यान लखतरान हुन्थ्यो। तर मामा घर पुगेपछि सबै थकान बिर्सिइन्थ्यो।
पहाडमा दसैँँको मजै छुट्टै हुन्थ्यो। पञ्चेबाजाको सुमधुर धुनसहित देवीलाई भित्र्याइन्थ्यो। दाजुहरु पल्लो डाँडा गएर लिङ्गे पिङ खेल्थे। उनीहरुले खेलेको देख्दा आफूलाई पनि लिङ्गो कट्ने गरी मच्चिन मन लाग्ने उनले सुनाए।
पहाडी खेती तराईको भन्दा बेग्लै थियो। तराईमा जस्तो धान होइन, कोदो खेतीले डाँडा हराभरा हुन्थ्यो। अरु सागसब्जी, फलफूल पनि निकै स्वादिला।
दसैँमा मामाघर पुगेपछि यसै रमाइलो भइहाल्यो। अझ मुख्य रुपमा टीकाको दिन विशेष हुन्थ्यो। बिहानै नुहाइ–धुवाइ गरेर बुवाले ल्याइदिएका सुतीको नयाँ कपडा लगाएर टीका लगाउने पालो पर्खेर बस्थे क्षेत्री।
हजुरबुवा, हजुरआमाले निधारै छोपिनेगरी टीका लगाइदिएर आशिर्बाद दिन्थे। अनि धेरैबेर पर्खिएपछि बल्ल दुई रुपैयाँको ढ्याक हातमा पर्थ्यो।
त्यसपछि मामा, माइजु र अरु मान्यजनले टीका लगाएर दक्षिणा दिएको उनी सम्झन्छन्।
क्षेत्री राष्ट्रिय खेलकुद परिषदमा टेबलटेनिसका वरिष्ट प्रशिक्षक रहिसकेका छन्। दशकअघि उनी सेवानिवृत्त भएका हुन्।
‘अचेल घरैमा बस्छु’ उनले भने, ‘जागीरमा रहँदा प्रायः देशभरि प्रशिक्षणमै व्यस्त हुन्थें, त्यसबेला खेलाडीहरुसँग सामूहिक रुपमा दसैँ मनाइन्थ्यो।’
यी अनेक अनुभव छन् दसैँका उनीसँग। तर अचेलको दसैँ भने अलि फिक्क लाग्छ भन्छन्। ‘अचेल ढोलको आवाज सुनिंदैन, लिङ्गे पिङ बिरलै देख्न पाइन्छ’ उनी भन्छन्, ‘मिठो मसिनो पैसा हुनेलाई मात्र भयो, सुतीका पाइन्ट सर्टलाई जिन्सले सखाप पार्यो।’
उहिले दुई रुपैयाँको ढ्याक पाउँदा संसारकै धनी अनुभव गर्ने उनले अचेलका केटाकेटीलाई हजार रुपैयाँको समेत उति महत्व नहुने गरेको अनुभव गरेका छन्।
उहिले लाम लागेर, पालो पर्खेर अग्रजहरुबाट टीका थाप्ने क्षेत्री अब आफैंले अरुलाई त्यसैगरी टीका लगाइदिने भूमिकामा छन्।
काठमाडौंमा रहेका छोरा र अस्ट्रेलियामा रहेकी छोरी हरेक वर्ष नियमित रुपमा दसैँमा आउन पाउँदैनन्। यसले भने उनलाई खिन्न बनाउँछ। तर समयअनुसारको अवस्था भनेर चित्त बुझाउने गरेका छन्।
(प्रशिक्षार्थी)