दसैँ उमङ्ग र उत्साह बोकेर आउने पर्व हो। नयाँ कपडा लगाउने, पूजापाठ गर्ने, मेला जाने, मान्यजनबाट टीका र जमरासहित आशिर्बाद लिने, नवरात्रमा कथा सुन्ने। दसैँका अवसरमा गरिने यस्ता गतिविधिहरु अझै पनि कायमै छ। कतिपय मौलिक पक्षहरु भने अचेल हराउँदै गएका छन्।
यस्तै लाग्छ, मोरङको जहदा गाउँपालिका ५ का विश्वनाथ दासलाई । उहिले र अहिलेको दसैँमा धेरै फरकपन आइसकेको अनुभव उनको छ।उनको सम्झनामा दसैँका बेला साधु, सन्तले धार्मिक ग्रन्थ र कथाहरु पाठ गरेको झलझली छ। धार्मिक कथाहरुमा आधारित नाटक अनि संगीत पनि उबेलाको नियमित परम्परा थियो।
दिनभर गीत, भजन, किर्तन अनि रामायणका पाठ संगीतमय सुनेका दास अचेल यस्तो चलन हराउँदै गएको बताउँछन्।राति प्रदर्शन गरिने नाटकमा गाउँलेको उल्लेख्य सहभागिता हुने गरेको थियो। ‘सबै समुदाय उत्साहपूर्वक सहभागी हुन्थे’ उनले भने, ‘साधु, सन्तलाई भोजन खुवाइन्थ्यो।’
‘हामी किसान हौं, कृषि हाम्रो जीवन बाँच्ने आधार हो’ दास भन्छन्, ‘दसैँमात्र होइन हरेक चाडपर्वको खर्च कृषिबाटै धानिरहेका हुन्छौं।’
पहिले सामूहिक रुपमा गरिने दसैँ पूजा व्यवस्थापनको खर्च चन्दाबाट उठाइन्थ्यो। कुनै पनि पर्वमा वा अरु सामाजिक काममा गाउँलेको एकता महत्वपूर्ण हुने सम्झँदै उनी अचेल यस्तो चलन उति नरहेको बताउँछन्।
‘पहिला अचेल जस्तो महङ्गी थिएन’ दासले भने, ‘धेरै तडकभडक पनि हुँदैन थियो, तर पर्वको उल्लास भने असाध्यै रोमाञ्चक हुन्थ्यो।’
लक्ष्मिनियाँ चोकमा दसैँमा हजारौँ मान्छे भेला हुन्थे। वि.सं. २०१३ तिर लक्ष्मिनियाँ चोकमा दसैँको मेलामा सहभागी भएको उनको अनुभव छ।
‘हाम्रोमा दसैँ भनेको मुख्य रुपले मेला जानु नै हुन्थ्यो’ दासले भने। धनपालथानको नोचा भन्ने ठाउाँ ठूलो चौरमा भव्य मेला लाग्ने गर्थ्यो। पछि मानिसहरुको बसोबास बाक्लिँदै जाँदा मेला लाग्ने ठाउँ साँघुरियो।
नोचामा अझै पनि मन्दिर छँदैछ। दसैँलगायत पर्वमा त्यहाँ पूजा पाठ गरिन्छ। तर पहिलेजस्तो मेला भने लाग्दैन।
मेलामा जुवा, तास खेल्ने, महाभारत र रामायणमा आधारित नाटक र सिनेमा प्रदर्शन गरिन्थ्यो। मेलामा युवाहरुबीच कहिलेकाहिँ झगडा पनि हुन्थ्यो।
‘दसैँका बेला अलिअलि पिउने कुराले गर्दा झगडा हुन्थ्यो’ दासले भने, ‘रमाइलोसँगै केही विकृति पनि देख्न पाइन्थ्यो।’
मेलामा चार–पाँच दिनसम्म घुइँचो हुन्थ्यो। अचेल भने विजया दशमीको मुख्य दिनमात्र मानिसहरुको जमघट हुने उनले सुनाए।
साथीभाइ भेला भएर कहिलेकाहिँ मेला हेर्न विराटनगरसम्म आउने गरेको दासले सम्झिए। विराटनगरको र धनपालथानको मेलाको विशेषता अलि फरक हुन्थ्यो। जंगलबीचको मन्दिर अनि प्राकृतिक वातावरणमा बेग्लै अनुभव हुने उनले बताए।
उबेला सँगै मेला जाने साथीभाइ कोही जीवित नभएको बताउने दास आफू एक्लो भएको अनुभव सुनाउँछन्।
त्यसो त अचेल पनि लक्ष्मिनियाँ चोकस्थित दुर्गा मन्दिरमा पूजापाठ हुन्छ। उनी पनि सहभागी हुन्छन्।
मेलामा चार रुपैयाँमा धोती पाइन्थ्यो। एक–एक पैसा जम्मा गरेर मेलामा कपडा किन्न साँचेर राख्ने गरेको उनको भनाइ छ।
अचेल त आफू पुरुषको पहिरन र महिलाको पहिरन नै छुट्याउन नसक्ने उनले बताए। अचेल पहिरन, खानपान अनि मानिसहरुको जीवनशैली नै फेरिएको अनुभव दासले गरेका छन्।
‘पहिले महिलाहरु दसैँको मेलामा शरीर पुरै छोप्ने गरी कपडा लगाउँथे’ उनले भने, अचेल त्यस्तो कहाँ छ र?
(प्रशिक्षार्थी)