काठमाडौं। विश्वमा हैजाको वृद्धि चिन्ताजनक रुपमा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० वटा देशमा हैजाको प्रकोप देखिएको डब्लुएचओले जनाएको छ।
डब्लूएचओको हैजा र महामारी झाडापखालासम्बन्धी टोलीका प्रमुख फिलिप बारबोजाले जेनेभामा सञ्चारकर्मीसँग बोल्दै यस्तो चिन्ता व्यक्त गरेका हुन्।
वर्षौंदेखि घट्दो सङ्ख्यापछि विगत एक वर्षमा विश्वभरि हैजाको प्रकोपको चिन्ताजनक वृद्धि देखिएको उनको भनाइ छ।
प्रकोपहरू बिस्तारित र धेरै घातक पाइएको पनि उनले जनाएका छन्। सन् २०२१ मा औसत मृत्युदर अघिल्लो पाँच वर्षको तुलनामा झण्डै तीन गुणाले बढेको उनले जनाकारी दिए।
बारबोजाका अनुसार गरिबी र द्वन्द्वजस्ता हैजाका लागि जिम्मेवार मानिने परम्परागत प्रभावहरूसँगै जलवायु परिवर्तन पनि यो समस्याको एक हिस्सा हो। ‘जलवायु परिवर्तनको प्रभाव तीव्र हुँदै जाँदा, हामीले हैजा रोकथामका लागि अहिले नै कदम नचालेमा स्थिति अझ खराब हुनसक्छ’ उनले भने।