कुरो हो सप्तरी, बरमझियाको पेडाको। कन्चनरुप नगरपालिकाको वडा १ र २ मा पर्ने पूर्वपश्चिम राजमार्ग वारिपरि रहेका पेडा र खुवा पसल तथा भण्डारमा सधैंजसो ग्राहकको चहलपहल हुन्छ।
सार्वजनिक साधनमा यात्रा गर्नेहरु हुन् वा निजी सवारीमा गन्तव्यतिर जानेहरु, उक्त स्थानमा रोकिएर पेडा, खुवाको स्वाद लिने गरेको पाइन्छ।ग्राहकको आकर्षण भएकैले दिनहुँ करिब ६५ किलोसम्म बिक्री हुने गरेको व्यवसायी बताउँछन्।
ग्राहकहरुले आफू खानेमात्र होइन आफन्तका लागि कोसेलीका रुपमा पनि बोकेर लैजाने गरेका छन्। भारतीय पर्यटक पनि पेडाका पारखी हुन्।त्यहाँको चर्चित पसल ‘श्री बैजनाथ साह पेडा भण्डार’ ६ दशक अघिदेखि सञ्चालन भएको हो। पहिलेजस्तै स्वादको पेडा पाइने भएकाले ग्राहकको आकर्षण कायमै रहेको सञ्चालक ३० वर्षीय सञ्चालक विवेक साहको दाबी छ।
१० जनासम्मलाई रोजगारी दिएका साहको भण्डारमा पेडा बनाउने काम ११ बजेबाट सुरु हुन्छ। दैनिक कम्तीमा ३ सय ५० लिटर दुध खपत हुने उनले बताए।
‘दैनिक ६५ किलो पेडा र खुवा बनाउँछौ । यसका लागि ३ देखि ४ सय लिटर दूध चाहिन्छ।’
प्रतिस्पर्धा निकै भए पनि अरुले भन्दा गुणस्तरमा बढी ध्यान दिने गरेकाले ग्राहकको भीड लाग्ने गरेको उनको भनाइ छ।
पेडा लोकप्रिय बनेसँगै अरुले पनि उही नाममा पसल खोल्ने गरेको बताउँदै साहले अब हजुरबुवाले सुरु गरेको पसललाई पहिचान दिन उनको शालिक राख्ने सुनाए।
यसपालि अघिल्ला वर्षमा जस्तो पर्वका बेला पेडा खपत नभएको व्यवसायीले बताए। गर्ने वा यथावत राख्ने दुविधामा छन् । दूधको मूल्य वृद्धि हुँदा उत्पादन लागत बढ्ने भए पनि गुणस्तरमा भने कुनै सम्झौता नगरिने साहले बताए।
विगतमा तत्कालीन राजा वीरेन्द्र, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, कांग्रेस नेता डा. शेखर कोइरालासमेत पेडा खानका लागि भण्डारमा आएको उनले सुनाए।
३५ वर्षीय विजय गुप्ता दुई दशकदेखि ‘असली बुढो बाजेको पेडा भण्डार’ सञ्चालन गरिरहेका छन्। उनी बरमझिया ब्यापार संघका सचिव हुन् । उनी आफ्ना बुवाले सुरु गरेको पसल सम्हालेर बसेका छन्।
२०६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर अध्ययन सकेका गुप्तासँगै परिवार यसै ब्यवसायमा आवद्ध छ। केही वर्ष कतारमा काम गरेर फर्किएका गुप्ताका दाई युगलकिशोर पनि पसलमा ब्यस्त छन्।
आफ्नो पसलका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, मोहन बैद्य, एकीकृत समाजवादीका झलनाथ खनाल, राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङलगायत थुप्रै चर्चित व्यक्तिहरु आइसकेको उनले बताए।
सप्तरीमा उत्पादित पेडा तथा खुवा काठमाडौ, पोखरा, नेपालगञ्ज, विराटनगर, काँकडभिट्टा, बीरगञ्ज, लहान, जनकपुर, धनगढीजस्ता बजारसम्म पुग्ने गरेको छ।