तस्बिरः केशव घिमिरे
विराटनगर । नयाँ कपडाको सुगन्ध, मामाघर जाने हुटहुटी, दक्षिणा पाउने आशा अनि मिठा खानेकुरा। बाल्यकालमा दसैँको सम्झना धेरैलाई यसैगरी हुन्छ।
यसबाहेक लिङ्गे पिङको आकर्षण बेग्लै हुन्छ। रोटे पिङ त अचेल उति देख्न पनि पाइँदैन। लिङ्गे पिङ पनि निकै कम देखिन्छ।
कतिपय सामाजिक संस्थाहरुले गाउँमा अझै पनि पिङ बनाएर दसैँलाई विशेष बनाउने प्रयास भने गरिरहेकै छन्।
तस्बिरमा देखिएको पिङ बाराको सिमरामा बनाइँदै गरेको लिङ्गे पिङको हो। स्थानीय युवाहरु विष्णु, नवराजलगायतले गाउँले अनि दसैँमा अन्यत्रबाट आउनेहरुका लागि पिङ बनाइरहेका छन्।
दसैँमा पिङ खेल्नुको मजा नै बेग्लै हुन्छ। त्यो मजा अचेल विभिन्न अवसरहरुमा लगाइने गरेका मेला अनि महोत्सवमा राखिएका पिङ र रमाइलो गर्न भनी राखिएका अरु विद्युतीय सामग्रीबाट कहाँ पाउनु?