विराटनगर । आगामी निर्वाचनका लागि दलीय गठबन्धनमा मोरङका क्षेत्र नम्बर ४ र ५ आफ्नै पार्टीको भागमा पर्नुपर्ने नेपाली कांग्रेसका युवा नेताहरुले बताएका छन्।

उनीहरुले गठबन्धनका नाममा कांग्रेसले आफैंलाई कमजोर बनाउँदै गएको उल्लेख गरेका छन्। विगतको नतिजा र पार्टीगत संरचनाले समेत दुवै क्षेत्रमा कांग्रेस बलियो रहेको दाबी नेताहरुको छ।

नेपाल ट्रेड यूनियन कांग्रेस प्रदेश १ महिला समिति अध्यक्ष सुनिता घिमिरेका अनुसार दुवै क्षेत्रमा कांग्रेसलाई पाखा लगाइए विद्रोहको अवस्था आउने बताउँछिन्। दुवै क्षेत्र कांग्रेसभन्दा अरु पार्टीका लागि दिइए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी उनको छ।

मोरङ जिल्ला महिला संघको कोषाध्यक्ष रहिसकेकी नेतृ घिमिरे कांग्रेसको प्रभाव क्षेत्र अरु पार्टीलाई दिने कुराप्रति असन्तुष्ट छिन्।

‘जित सुनिश्चितता र कांग्रेसको बलियो संरचना रहेको क्षेत्र गठबन्धनको नाममा अरुलाई दिंदा विरोधमात्र होइन निर्वाचन नै बहिष्कार हुनेछ।’ यसो गर्दा पार्टीले कारबाही गरे सामना गर्न तयार रहेको उनले बताइन्।

केन्द्रले जे निर्णय गरे पनि तल्लो तहले मान्नुपर्ने जस्ता अप्रजातान्त्रिक कुरा मान्य नहुने नेताहरुले बताएका छन्।

युवा नेता विष्णु भुर्तेल पनि गठबन्धनले पार्टीलाई सही मार्गमा लैजान नसक्ने बताउँछन् । भुर्तेल मोरङको क्षेत्र नम्बर ४ र ५ मा विगतका दुई संविधानसभा निर्वाचनको नतिजा, स्थानीय तहको नतिजाले कांग्रेस बलियो रहेको बताउँछन्।

दुवै क्षेत्र कांग्रेसको आधार क्षेत्र रहेको बताएका भुर्तेलले यस क्षेत्रमा कांग्रेस च्ुनावचिह्न विहीन भएर होमिँदा आउँदो वर्ष पार्टी कार्यकर्ताविहीन हुने चेतावनी दिए।

‘६०/४० को भागवण्डाको आवाज उठिरहँदा समानुपातिकतर्फ ३० प्रतिशतसम्म समेटिनुले खासै अर्थ राख्दैन’ उनले भने, ‘अब प्रत्यक्षतर्फ भने नेताहरु समेटिनुपर्छ। त्यो महत्वपूर्ण रहनेछ।’

यस्तो छ मोरङ ४ र ५ को अवस्था

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङको ४ र ५ मा कांग्रेसविरुद्ध तत्कालीन नेकपा एमाले र माओवादीको एकीकृत समीकरणका उम्मेदवार विजयी बनेका थिए।

क्षेत्र नम्बर ४ का बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, विराटनगर महानगरासहित १४ वटा वडाध्यक्षको पछिल्लो मतपरिणाममा कांग्रेसको २१ हजार ८ सय ९४ मत थियो।

माओवादीको ९ हजार ९ सय ९०, जसपा ३ हजार १ सय १२ र एकीकृत समाजवादीको १ हजार २ सय ५५ गरी कूल ३६ हजार २ सय ५१ मत छ।

त्यसैगरी, एमालेको २५ हजार ७ सय ३० र राप्रपा ४ हजार ६ सय ७४ गरी ३० हजार ४ सय ४ मत छ । २०७४ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसका उम्मेदवार महेश आचार्य एमाले र माओवादीका उम्मेद्वार अमनलाल मोदीसँग ६ हजार ७ सय २९ मतले पराजित भएका हुन्।

क्षेत्र नम्बर ५ मा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीका उम्मेदवार शिवकुमार मण्डलसँग कांग्रेसका अमृत अर्याल ३ सय ७ सय ९२ मतको अन्तरले पराजित भएका थिए।

यस क्षेत्रमा तीनवटा स्थानीय तहका १५ वटा वडाध्यक्षमा गठबन्धनतर्फ कांग्रेसले १९ हजार ४ सय ९८, माओवादी ११ हजार ६ सय २८, जसपा १३ हजार २ सय ४९ र समाजवादीको ६ सय ८ गरी ४४ हजार ९ सय ८३ मत हासिल गरेको थियो।

एमालेले १५ हजार ६ सय ८०, राप्रपा १ हजार ८ सय ८७ र लोसपा ७ सय ५२ गरी १८ हजार ३ सय १९ मत पाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु