विराटनगर । मोरङको रंगेलीमा एक युवा मृत अवस्थामा भेटिएका छन्। उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।
मोरङकै सुनवर्षी नगरपालिका ४ का ३२ वर्षीय अशोक यादव शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
रंगेलीबाट बटरवारी जाने सडकछेउ उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पेटमा गहिरो चोट लागेको जनाइएको छ।
प्रहरीका अनुसार काममा जाने भनेर उनी बिहीबार घरबाट मोटरसाइकल लिएर हिँडेका थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ।
मोरङ प्रहरीका निरीक्षक पप्पु नायक र इलाका प्रहरी रंगेलीसहितको टोली परिचालन गरिएको श्रेष्ठले बताए।