सुन्दरहरैंचा । प्रज्वल विश्वकर्माको दोस्रो त्रैमासिक परीक्षा शुक्रबार सकिएको छ। विद्यालयबाट घर आउनासाथ उनी नयाँ लुगा किन्न बजार जाने तयारी गर्दैछन्। यो दसैँमा उनलाई सेतो भेस्टमाथि टिकटिके सर्ट, जिन्स पाइन्ट र जुत्ता लगाउने औधी रहर छ।

उनका सहपाठी मनिष त्रिखत्री भने मामाघर जाने अन्तिम तयारीमा छन्। दसैँका लागि नयाँ लुगा किनेर एकपटक लगाइसकेका उनी मामाको प्रतीक्षामा छन्।

मोरङको सुन्दरहरैंचाका मनिषको मामाघर भोजपुर हो। भोजपुर जान बसमा करिब आठ घण्टा यात्रा गर्नुपर्छ। यात्रा लामो छ तर हजुरआमा र मामाहरुसँग दसैँ मनाउन पाउने भएपछि उनलाई यसको फिक्री छैन।

कृतिशा कटुवालको घर भोजपुर हो। उनलाई दसैँंको माहोल रमाइलो लागिरहे पनि घरमा सुतक परेकाले उनले दसैँको टीका जमरा लगाउन पाउने छैनन्।

घरमा भर्खरै सानी बहिनी जन्मिएकीले उनलाई दसैँ  विशेष लागे पनि टीका, जमरा र दक्षिणा नपाउने भएकाले अलि खिन्न छिन्। यसो भए पनि गाउँमा हालेका लिङ्गे पिङ्गमा गएर मच्चिएपछि उनले अरू दुःख भुल्ने गरेकी न्।

जान्वी चौधरीलाई दसैँ खास लाग्दैन। उनलाई बरू तिहार मज्जा लाग्छ। थारु समुदायले दसैँ नमनाए पनि गाउँछिमेकमा अरुले मनाएको देख्दा उनी खुसी हुन्छिन्।

घरमा दसैँको टीका, जमरा नलगाए पनि भर्खरै मात्र जितिया पर्व सकिएको र तिहार आउँदै गरेकाले पारिवारिक भेटघाट र चाडपर्वको माहोलले उनलाई पनि छपक्कै छोपेको छ।

सिद्धान्त राई र समिर गौतम दाजुभाई हुन्। दिदीबहिनीका छोरा रहेका राई र गौतम सँगै एउटै घरमा डेरा गरी आमाबुबासँग बस्छन्। आमाबुबा दसैँंमा खोटाङ जाने तयारीमा रहेका कारण उनीहरु दसैँ मनाउन मोरङभन्दा फरक जिल्ला पुग्दैछन्।

एएमजी टाइम्सको दसैँ कसरी मनाउनु हुन्छ भन्ने प्रश्नमा दुवैले एकै स्वरमा भने, ‘हामीले त नयाँ लुगा, जुत्ता किनिसक्यौँ नि १ त्यहीँ लगाउने अनि मामाघर जाने।’

‘‘दादाको र मेरो सबै एउटै छ, जुत्ता मात्रै अर्कै रङ्गको छ’ सिद्धान्तले समिरतिर हेरेर हाँस्दै भने। समिरले भाइको कुरामा हो मिलाउदै टाउको हल्लाएर सहमति जनाउँदै भने, ‘यस पटक मामाघर जान पाइने भयो भनेर हामी निकै खुसी छौँ । तर गाडीमा मलाई अप्ठेरो हुन्छ। झ्यालपट्टिको सिटमा बसेर जाने हो।’

६ वर्षीय निमा शेर्पा दसैँबारे खास बुझ्दैनन्। घरमा ल्होसार मात्र मनाइने र अन्य चाडबारे खासै कुरा नहुने भएकाले उनलाई दसैँबारे थाहा छैन। परीक्षापछि स्कूलले एक महिना लामो बिदा दिएकोमा भने उनलाई आनन्द छ।

‘हामी दसैँ त मनाउँदैनौँ, ल्होसार मात्र मनाउने गर्छौँ’ उनले भने, ‘स्कूल बिदा छ। साथीभाइसँग खेल्छौँ। चङ्गा बनाएर उडाउँछौँ, धेरै रमाइलो हुन्छ।’

निमा जस्तै मोहम्मद अली खान पनि दसैँ मनाउँदैनन् । इस्लाम धर्मावलम्बीहरुले दसैँ नमनाउने भएकाले उनलाई पनि दसैँबारे खासै थाहा छैन। तर उनको विद्यालयले परीक्षाको अन्तिम दिन सबै विद्यार्थीलाई दसैँको टीका र जमरासहित दसैँको शुभकामना र एक महिने बिदा दिएकाले उनी खुसी छन्।

‘हाम्रो बुबाआमाले त दसैँ मनाउनु हुन्न तर यसपटक स्कूलमा सर, म्यामहरुले टीका र जमरा दिएर ह्याप्पी दसैँ भन्दै २० दिन छुट्टी भन्नु भएको छ’ अलीले भने, ‘घरमा सबै जना बस्ने, मिठो खाने, घुम्न त्रिवेणी रिसोर्टतिर जाने त्यत्ति नै।’

आशिष सुन्दासलाई भने यसपटकको दसैँ खल्लो हुनेछ। घरमा पारिवारिक जमघट हुने भए पनि पाँच महिनाअघि हजुरआमा बित्नु भएकाले दसैँमा टीका जमरा चल्दैन। कक्षा ११ मा अध्ययनरत सुन्दास साथीभाइसँग भेटघाट गरेर र फिल्म हेरेर दसैँ मनाउने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु