काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री थापाले नेपाली काँग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको गुनासो बढिरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको जनाए।

पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरे।

महामन्त्री थापाले पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको जिकिर गरे।

युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर्ने साहस थपिएको भन्दै युवाहरुलाई निराश नबनाउने प्रतिवद्धतासमेत व्यक्त गरे।

‘‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठिक ठाउँमा पुर्याउनुपर्ने बेला आएको छ, नत्र पार्टी सत्ताको हतियार मात्र हुने भयो।’

महामन्त्री थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना पनि गरे। सरकार मात्र निर्वाचन लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताए।

डेंगुका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै थापाले प्रधानमन्त्रीले आपतलीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्युनीकरण गर्ने अभियान शुरु गर्नुपर्ने बताए।

उनले आफू स्वास्थ्यमन्त्री रहँदा बनाएको बीमा विधेयक, ऐन लागू भएको भए बीमा गरेका नेपाली नागरिकहरुले अस्पतालको शैय्यामा सुतिसकेपछि खल्तीबाट एक रुपैयाँ पैसा पनि तिर्नुपर्ने अवस्था नआउने दाबी बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु