विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब विजयी हुँदै फाइनलमा पुगेको छ।
सेमिफाइनल र फाइनलका खेलहरु आयोजकले रात्रिकालीन खेल सुरु गरेको हो। प्रतियोगिताअन्तर्गत बिहीकार भएको रात्रिकालीन खेलमा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको छ।
यसै साता (सोमबार) विराटनगरको रानीमा भएको मिल्स भेट्रान गोल्डकपसमेत दमकले जितेको थियो।
खेलको ८ औं मिनेटमा दीपेन गिरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। विराटनगरका खेलाडीले गोलरक्षकलाई दिएको ब्याक पासमा दीपेनले डिबक्स अगाडिको लाइनबाट खोसेर सिधा प्रहार गर्दै गोल गरेका थिए।
१७ औं मिनेटमा पाएको क्रस पासलाई सदुपयोग गर्दै उत्कृष्ट हेडिङमार्फत टोलीको गोल संख्या दोब्बर बनाए।
निर्धारित ७० मिनेटको खेलमा विराटनगरका कृष्ण शाक्यले गोल गर्दै गोल संख्या कम गरेका थिए। खेलको इन्जुरी समयको अन्तिम १ मिनेट बाँकी छँदा पुनः दमकका सुवास आङुथुपोले गोल थप्दै जित सुनिश्चित पारे। खेलको म्यान अफ द म्याच दीपन गिरी भए।
विजेता वा उपविजेतामध्ये एक भएको अवस्थामा पाएको पुरस्कार राशिको १० प्रतिशत रकम बन्टी भुजेलको परिवारलाई सहयोग गर्ने दमकले घोषणा गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले खेल र खेलाडीका साथै उनीहरु चाहिने पूर्वधारको विकासमा लागि आफू सधैँ लागी परिरहेको बताए।
सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबारको राति सेमिफाइनल खेल आयोजक र धरानको हाम्रो भेट्रान क्लबबीच हुनेछ ।