दसैं भन्नासाथ नेपालीको मनमा एउटा विशेष उमंग तरंगित हुने गरेको छ। यससँग जोडिएका बालापनका कुरा, मामाघर जाने र अग्रजबाट टीका, जमरा आशिर्वाद लिने, मीठो खाने, नयाँ लुगा लगाउने धेरै रमाइला प्रसंगहरु छन्।

सबैको दसैंसँग सम्बन्धित आ–आफ्नै रोचक अनुभव हुन्छन्। मेरो पनि छ। दसैं नजिकिएसँगै मनमा उल्लास छाउने गर्छ। बाल्यवस्थादेखि हालसम्म पनि उत्तिकै उत्साह कायम छ।

परिस्थितिका कारण आफ्ना अधिकांश आफन्तहबाट टाढा रही दसैं मनाउनु पर्दा स्वाभाविक रुपमा केही खल्लो महसुस हुने गर्दछ। तर, पनि परिवारका सदस्य, साथीभाइका साथ बसेर खाने, गफगाफ गर्ने, नाचगान गर्ने, रमाइला खेल खेल्ने विगतका वर्षहरुमा गरिंदै आएको छ।

त्यस्तै छुट्टी मिलाएर आफ्नो परिवारका साथ टीका लगाउने, उपलब्ध भएसम्मका आफन्त मान्यजनको हातबाट टीका थाप्ने क्रम उहिलेदेखि जारी छ।

बुवाआमाबाट अनलाइनमार्फत दशमीको दिन आशिर्वाद लिने अवस्था अनुसारको चलन पनि कायमै छ।

तर पनि प्रत्यक्ष भेटघाट गरेर ९४ बर्षकी हजुरआमा, काका, काकी, माइत ससुराली, मावली आदिका हातबाट टीका र जमरा लगाउन नपाउँदा निकै रिक्तता महसुस हुने गरेको छ।

नेपालमा छँदा केही साताअघि गरिने दसैंको किनमेल, कार्यालयबाट प्राप्त हुने गरेको दसैं खर्च, लिंगे पिङको आनन्द, सबै परिवार खासगरी बुबाआमा, काका, काकी सबै परिवार हजुरआमाको घरमा जम्मा भएर संयुक्त रुपमा टीका लगाउने र सबैजना खाना खाँदै गफ गर्दाको मजा नै बेग्लै हुन्थ्यो।

केटाकेटी छँदा दसैं आउनुभन्दा करिब एक डेढ महिना पहिला नै बुबाआमाले बजारबाट परिवारका सबैजनालाई पुग्ने थान कपडा किनेर ल्याउनु हुन्थ्यो।

त्यसपछि जब बालीघरे दाइ घरमा मेसिन ल्याएर केही दिन बसेर सबैलाई लुगाको नाप लिंदै सिलाउनु थाल्नु हुन्थ्यो। त्यसबेला खुसीले उचाइ चुम्न थाल्दथ्यो। नयाँ लुगाको बास्नाको कुरै नगरौं.. यो हामी सबैजसोले अनुभव गरेकै हौं।

घरमा काटिने खसी, पाखामा गएर बाबियोको लठारो बाट्ने अनि लिंगे पिङ बनाउने काम पनि हुन्थ्यो। पिङ खेल्न हामी केटाकेटीको तँछाडमँछाड नै हुने गर्दथ्यो।

सानो छँदा दिदीबहिनीहरुले मात्र दक्षिणा पाउँथे तर, आफूले नपाउँदा नरमाइलो लाग्दथ्यो। तर, मावलमा दक्षिणा पाएपछि त्यो सबै क्षतिपूर्ति भएको जस्तो पनि लाग्दथ्यो।

दक्षिणा पाएको नयाँ नोट गोजीमा हाल्दै निकाल्दै हेर्ने गर्थें। आफ्नै दक्षिणा भाइहिनीको भन्दा काम भएमा आमाले थपेर बराबरी बनाइदिनु हुन्थ्यो। त्यसरी जम्मा भएको पैसा बाख्राको पाठो, कुखुराको चल्लो किनेर अरुलाई पाल्न दिने गर्नु हुन्थ्यो आमाले। यदाकदा दक्षिणाको पैसा बैंकमा पनि राख्ने चलन थियो।

छोराहरु बाबु भएपछि पारिपारिक जिम्मेवारी बढेसँगै आफ्ना भन्दा उनीहरुका चाहना पूरा गर्न बढी अग्रसर भइँदो रहेछ। देशबाहिर रहेकाले यहाँ हाम्रा  केटाकेटीहरुमा दसैंको क्रेज खासै छैन। जसरी मनाए पनि दसैं त दसैं नै हो। सबै नेपालीहरुमा मंगलमय शुभकामना।

49
Shares
१४ आश्विन २०७९, शुक्रबार ०६:३९