विराटनगर । विराटनगरको सौन्दर्यीकरणका लागि महानगरले केबल र इन्टरनेटका तारलाई व्यवस्थित बनाउने भएको छ। महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिसँगको छलफलपछि यस्तो जानकारी दिएको हो।
खम्बामा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिइएको महानगरले जनाएको छ। मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तारलाई व्यवस्थित बनाउन आग्रह गरे।
‘हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौं, तर एकपटक तपाईंहरुलाई आग्रह गरौं भनेर हामीले बोलाएका हौं,’ कोइरालाले भने, ‘यदि तपाईंहरुले जतिसक्दो तारको व्यवस्थापन गर्नु भएन भने हामी एक्सनमा उत्रिन्छौं।’
जथाभावी लत्रिएका तारका कारण सहरको सुन्दरतामा ह्रास आएको मेयर कोइरालाको भनाइ थियो। तारलाई व्यवस्थित बनाउन महानगरका तर्फबाट पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
त्यसका लागि सहजीकरणको जिम्मेवारी इन्जिनियर अनिल सिंहलाई तोकिएको छ। पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न मेयर कोइरालाले निर्देशन दिए।
‘विराटनगरलाई सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसित पनि सम्झौता हुँदैन,’ कोइरालाले भने, ‘कम्तीमा कात्तिक मसान्तभित्र बजार क्षेत्रका तार व्यवस्थित गरिसक्नुहोस्।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर संकलनका लागि महानगर निर्मम तरिकाले लाग्ने जनाए। महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उनको भनाइ थियो।
वर्डलिङ्क, म्याक्स, क्लासिकटेक, सुबिसु, भायानेट, कनेटलगायत संस्थाका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो। महानगरभित्र खम्बामा रहेका ६० प्रतिशत तारहरु काम नलाग्ने रहेको जनाइएको छ।
म्याक्सका विराटनगर शाखा प्रमुख उमेश दाहालले भने, ‘पोलमा बिग्रिएका तार निकालिँदैन, त्यही छाडिन्छ, त्यस्ता तारहरु करिब ६० प्रतिशत छन् । ४० प्रतिशत मात्रै काम लाग्ने तार छन्।’