काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन्। बिहीबार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको समेत बताए। ‘जनता वास्तवमा देशको जस्तो हालत र जसरी देश अघि जाँदैछ, यस्तो अवस्थाबाट दिक्क छन्, त्रसित पनि छन्’ उनले भने, ‘यो देश कहाँ पुग्ने हो, एउटा भयावह स्थिति छ।’
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको उनले उल्लेख गरे।
सरकार गठन गर्नेदखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्ने कुरा निर्वाचनले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गरे।
अध्यक्ष ओलीले देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको विकासको पक्षमा पार्न, राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न र विकासको गतिलाई अघि बढाउन नेकपा एमालेबाहेक अन्य कुनै राजनीतिक शक्ति नरहेको दाबी गरे।
यस्तो स्थितिमा मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन आइरहेको भन्दै ओलीले भने, ‘निर्वाचनले एकातिर देशमा सरकार गठन गर्ने कुरा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने कुरा सभामुखदेखि लिएर अन्य पदाधिकारीको निर्वाचन गर्ने कुरा, सरकार गठन भनेपछि प्रधानमन्त्रीदेखि लिएर सरकार गठन गर्ने कुरा, प्रदेश सरकार गठन गर्नेकुरा र भोलि गएर आवधिक निर्वाचन गर्ने कुरा छ।’