विराटनगर। पछिल्ला दिन देशभरि डेंगुका बिरामीको संख्या बढेको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभरि ५४० जना नयाँ बिरामी थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ। बितेको २४ घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ। यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ।
नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए। त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिँदै आएका छन्। यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा भेटिएका छन्। बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगुका बिरामी भेटिसकेका छन्।
साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ।