काठमाडौं। ‘खालिस्तान गतिविधि’ का कारण क्यानाडा र भारतबीचको सम्बन्धमा खटपट सुरु भएको छ। क्यानाडामा रहेका पञ्जाबी (शिख समुदाय) ले अलग्गै ‘खालिस्तान राज्य’ माग गर्दै भारतविराधी गतिविधि तीव्र पारेपछि भारत बेखुसी भएको छ।

भारतले त्यस्तो गतिविधि क्यानाडाले नियन्त्रण गर्नुपर्ने भन्दै आएको छ। पछिल्लो समय दुबै देशमा भिसा प्रक्रिया ढिलाइ भइरहेको छ।

क्यानाडाले २० हजार भारतीय विद्यार्थीलाई भिसा दिन ढिलाइ गरेको छ। यसैगरी भारतले पनि क्यानाडाको पासपोर्टधारीलाई भिसा दिन ढिलाइ गर्न थालेको छ।

भारतले क्यानाडामा रहेका आफ्ना नागरिकलाई सतर्कता अपनाउन यसअघि नै भनिसकेको छ। क्यानाडाले पनि भारत जाने आफ्ना नागरिकलाई सावधानी अपनाउन भनेको छ। उसले भारतका पञ्जाब, राजस्थान र गुजरात राज्यहरुमा नजान आग्रह गरेको छ। ती राज्यहरुमा भूमिगत विष्फोटको सम्भावना रहेको भन्दै सुरक्षा खतरा रहेको उल्लेख गरिएको छ।

क्यानाडाले आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै भनेको छ, ‘पाकिस्तानको सीमाभन्दा १० किलोमिटर क्षेत्रसम्म नजानुहोस्। गुजरात, राजस्थान र पञ्जाबका क्षेत्रहरुमा भूमिगत विष्फोटको खतरा छ। सुरक्षा जोखिमको अवस्था छ।’

‘हेट क्राइम’ बढ्दै गएको भन्दै भारतले आफ्ना नागरिकका लागि जारी गरेको सुरक्षा सल्लाहपछि क्यानाडाको यस्तो प्रतिक्रिया आएको अनुमान भारतीय सञ्चार माध्यमले गरेका छन्।

क्यानाडा सरकारले सेप्टेम्बर २७ मा आफ्नो वेबसाइटमा एडभाइजरी जारी गर्दै भारत यात्राका क्रममा सावधानी अपनाउन भनेको थियो।

भारतका हरेक क्षेत्रमा आतंकवादी आक्रमणको खतरा रहेको पनि उल्लेख गरिएको छ।

क्यानाडाले आफ्ना नागरिकलाई मणिपुर र असम जस्ता पूर्वोत्तर राज्यहरुमा पनि जरुरी नपरी नजान भनेको छ।

ती दुबै राज्यमा आतंकवाद र विद्रोहीहरुको आक्रमणको खतरा रहेको उसले उल्लेख गरेको छ।

भारतले सेप्टेम्बर २३ मा एडभाइजरी जारी गर्दै क्यानाडामा रहेका आफ्ना नागरिकलाई भारतविरोधी गतिविधि बढिरहेको भन्दै सावधानी अपनाउन भनेको थियो।

49
Shares
१३ आश्विन २०७९, बिहीबार १०:०६