विराटनगर । लागूऔषध सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने चालकलाई प्रहरीले बुधबार विराटनगरमा पक्राउ गरेको छ।
विराटनगरबाट को १ ज १४८१ नम्बर म्याजिक भ्यानमा यात्रु लिएर सुनसरीको इनरुवा जाने क्रममा इटहरी–१३ का ३८ वर्षीय प्रदीप श्रेष्ठलाई पक्राउ गरिएको हो।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले श्रेष्ठलाई विराटनगर बसपार्कमा पक्राउ गरेको हो।
‘टेष्ट किट’ प्रयोग गरेर परीक्षण गर्दा उनले डाइलेक्स डीसी नामको लागूऔषधि र गाँजा सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पक्राउ परेका चालकविरुद्ध लागूऔषध सेवन सम्बन्धी मुद्दा चलाइने जानकारी दिए।
यसअघि मंगलबार मे १ ख ३०८९ नम्बर बसका चालक इटहरीका २३ वर्षीय सौरभ लाखेलाई पक्राउ गरेको थियो।
चालकले लागूऔषध सेवन गरे/नगरेको पत्ता लगाउन सार्वजनिक यातायातको क्षेत्रलाई लक्षित गरेर विराटनगरमा मंगलबारदेखि ट्राफिक प्रहरीले लापसे (लागूपदार्थ सेवन) सम्बन्धी जाँच सुरु गरेको छ।