विराटनगर। मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा परिचालन हुने निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिन थालिएको छ।
बुधबार सुरु भएको प्रशिक्षण बिहीबार समापन हुने छ। प्रशिक्षणमा निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको सहभागिता छ।

स्थानीय निर्वाचनमा भएका कमी–कमजोरीलाई सच्याउन निर्वाचनसम्बन्धी कार्यहरु सिकाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जबराले बताए।

इन्टरनेशनल फाउन्डेसन फर इलेक्ट्रोल सिस्टम संस्थाको साझेदारीमा सञ्चालन गरिएको आयोजक संस्थाका अधिकृत राज सापकोटाले जानकारी दिए।
प्रशिक्षणमा प्रदेश १ का १६ जिल्लाका निर्वाचन अधिकृत, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा क्षेत्रका उच्च अधिकारीहरु पनि सहभागी छन्।

पहिलो दिन सहजकर्ता लोकराज पराजुली, सूर्य गौतम, सञ्जीवराज रेग्मीले संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रम, जनशक्ति व्यवस्थापन, सुरक्षा व्यवस्थापन, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता, अनुगमन र पर्यवेक्षण, निर्वाचनमा प्रविधि प्रयोगलगायत विषयमा प्रशिक्षण दिने जनाइएको छ।

दोस्रो दिन बिहीबार सहजकर्ता तुलसीबहादुर श्रेष्ठ, लोकराज पराजुली, सञ्जीवराज रेग्मीले श्रव्यदृश्यका माध्यमले निर्वाचनबारे थप जानकारी दिने प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताए।

कार्यक्रमका प्रमुख अतिथि रहेका जबराले मंसिर ४ गते हुने आम निर्वाचनमा मतदान अधिकृतलाई निष्पक्ष भई इमानदारीपूर्वक काम गर्न मद्दत पुयाउने, सुरक्षा निकाय र पर्यवेक्षकहरुलाई आ–आफ्नो कर्तव्य र दायित्वबोध हुने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु