डाइनिया–पथरी भित्र सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी नगरपालिका–३ ढोकरियामा मंगलबार दिउँसो ५५ वर्षीय नन्दलाल ताजपुरिया मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकको पूर्वतर्फ उत्तानो परेको अवस्थामा उनको शव फेला परेको थियो ।
रतुवामाई नगरपालिका–७ सिजुवा घर भएका नन्दलालको मृत्युको कारण खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।त्यस्तै खोटाङको रुपाकोटमझुवागढी नगरपाालिका–२ सोल्मा डाँडामा ट्याक्टरबाट खसेर ५६ वर्षीय टेकबहादुर राईको मृत्यु भएको छ । सडकमा कुदिरहेको ट्याक्टरबाट खसेर रुपाकोटमझुवागढी–११ का राईको मंगलबार राति मृत्यु भएको हो ।
प्रहरीका अनुसार राति ८ बजेतिर ट्याक्टरबाट अचानक खसेर राई गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।