विराटनगर। आगामी मंसिर ४ गते हुने तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोगले राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न राजनीतिक दललाई आयोगले निर्देशन दिएको हो।
आयोगमा दर्ता भएका दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्नबाट रोक्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न नपाउने आयोगले उल्लेख गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनको अवधिभित्र कुनै पनि मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसका रुपमा नगद वा जिन्सी नदिन, सार्वजनिक भोजभतेरको आयोजना नगर्न आयोगले निर्देशन दिएको छ।
यसैबीच, चुनावका लागि निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन अचारसंहिता लागू गर्ने भएको छ। मङ्गलवार बसेको बैठकले बुधबारदेखि निर्वाचन अचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैलाई अनुरोध गरेको छ।
निर्वाचन आचारसंहिता राजनीतिक दलदेखि सरकारी तथा गैरसरकारी निकाय, मतदातासम्मका लागि लागू हुन्छ।
आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र निकायका पदाधिकारी, सङ्घ, प्रदेश र पालिकाका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई लागू हुन्छ।
यस्तै राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा सञ्चारकर्मीलगायतलाई पनि आचारसंहिता लागू हुन्छ।
सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत, साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन हुँदैन
कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी चुनावसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने आयोगले जनाएको छ।
राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टी–शर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याज, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ।
यसैगरी बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने भनिएको छ।
निषेध गरिएको समय र ठाउँमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा चुनाव प्रचारप्रसार गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख गरिएको छ।
आयोगले दलहरुलाई दिएको निर्देशन यस्तो छ–